– ललेन्द्र शाक्य
समय परिवर्तनसंगै राजनीतिक वातावरणमा परिवर्तन आए संगै हाल आएर देशमा आफू र आफ्नो पार्टीलाई सच्चा कम्युनिष्ट हुँ भन्ने बिल्ला लगाउनेहरु छताछुल्ल भई सिद्धान्तविहीन अवस्थामा पुगेको आभाष राजनीतिक विश्लेषक एवं सचेत जनसमुदायले गरिरहेका छन् । हालको परिप्रेक्ष्यमा भन्नु पर्दा शासन गर्ने कम्युनिष्ट पार्टीहरु सिद्धान्तबिहीन कम्युनिष्ट पार्टीको रुपमा परिचित हुन थालेका छन् । कोही गठबन्धनतिर त, कोही कम्युनिष्ट विचारधारा परित्याग गरी पूँजीवादको चुचुरोमा पुगिसकेको अवस्था छ । आफ्नो सिद्धान्त नमिल्ने पार्टीहरुसंग कम्युनिष्ट पार्टी भनाउँदा राजनीतिक दलसंग शीर निहुराई मिलेमतो गरी गठबन्धन गरी केबल राज्यसत्तामा बिलिन हुनको लागि मात्र राजनीति गरिरहेका कम्युनिष्ट राजनीतिक दलहरु हाल सिद्धान्तविहीन कम्युनिष्ट पार्टीको रुपमा रुपान्तरण भइसकेको छ । अबका कम्युनिष्ट दलहरुलाई सिद्धान्त भन्दा पनि सत्तामोह भइसकेको अवस्थामा गुजारित छन् कम्युनिष्ट राजनीतिक दलहरु । तर, हालसम्म पनि संघर्षरत, सच्चा कम्युनिष्ट बिल्लाधारी एक मात्र कम्युनिष्ट पार्टी पनि राजनीतिक यात्राका साथ निर्वाचनमा निरन्तर होमिरहेको पार्टी हो नेपाल मजदुर किसान पार्टी (नेमकिपा) । भन्छन्, सकारात्मक पक्षलाई बुझ्न धेरै समय लाग्छ । तर नकारात्मक पक्षलाई क्षणभरमा बुझ्न सक्छन् । देश र जनताको बुझाईमा पनि यही सकारात्मक र नकारात्मकको आगो बलिरहेको अवस्था छ । सच्चा कम्युनिष्ट र सकारात्मक सिद्धान्त एवं विचारका साथ तरंगित नेमकिपालाई देश र जनताले भित्री तहसम्म बुझ्न नसकिरहेको अवस्था छ भने सिद्धान्तबिहीन सत्ता मोह एवं आलिशान जिन्दगी गुजारामा लालायित राजनीतिक दल र नेताहरुलाई अंगाल्दै गर्वान्वित भइरहेको अवस्था छ देशमा । यही देश र जनताको हक, हित र अधिकारको लागि निरन्तर रुपमा संघर्ष गरिरहेको एक मात्र सच्चा कम्युनिष्ट पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) हालको मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागिता जनाई जनसमुदायको बीचमा प्रचारप्रसारको क्रममा पाईला अगाडि बढाइरहेका छन् । यस नेमकिपाबाट मादल चुनाव चिन्ह लिई काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा नारायण महर्जन उम्मेदवार बन्नु भएको छ भने प्रदेश सभा क्षेत्र नम्बर १० क बाट हरिकुमार महर्जन र प्रदेशसभा क्षेत्र नम्बर ख बाट बन्दना श्रेष्ठ महर्जनले उम्मेदवारी दिएका छन् । यस्तै, काठमाडौं १० नम्बर क्षेत्रबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारहरुमा सर्जु महर्जन, श्रीकृष्ण महर्जन, काशीनारायण डंगोल, उर्मिलादेवी सुतिहार चुनावी मैदानमा छन् भने प्रदेशसभा समानुपातिक उम्मेदवारको रुपमा प्रशान्तकुमार महर्जन, गुणदास महर्जन, सुशिला मिश्र, सलिना डंगोल, सीता मग्राती, ज्ञानुमैंया दराई र सीता थापा चुनावी मैदानमा उत्रेका छन् । को हुन् मादलबाहक प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण महर्जन ? नारायण महर्जन नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को उम्मेदवार हुनुहुन्छ । माता चन्द्रमाया र पिता ज्ञानबहादुर महर्जनका छोरा महर्जनको जन्म २०२० चैत्र ५ गते कीर्तिपुर ५ वडास्थित पांगामा भएको हो । नारायण महर्जनले राजनीति शास्त्र विषयमा स्नात्तकोत्तर तह उतीर्ण गर्नुभएको छ । विद्यार्थी राजनीतिमा २०३६ सालबाट होमिनु भएका नारायण महर्जन नेपाल क्रान्तिकारी विद्यार्थी संघ काठमाडौंको सदस्य, नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय महासचिव, नेपाल क्रान्तिकारी मजदुर संघको केन्द्रीय उपाध्यक्ष हुँदै पार्टीको काठमाडौं जिल्ला पदमा रही हाल उहाँ नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सदस्य भएर पनि जनताको सेवा गरिरहनु भएको छ । नारायण महर्जन, कीर्तिपुरबाट प्रकाशित भइरहेको सहीद साप्ताहिकको सम्पादकको भूमिकामा पनि हुनुहुन्छ । उहाँ २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन, २०५३ सालको महाकाली सन्धी विरुद्धको आन्दोलन, २०५९ सालको प्रतिगमन विरुद्धको आन्दोलन, २०६२–०६३ सालको लोकतान्त्रिक आन्दोलन, २०७८ सालदेखिभएको एमसीसी सम्झौता विरुद्धको आन्दोलनमा नेतृत्व पंक्तिमा रहेर कार्य गर्नुभयो । आन्दोलनकै सिलसिलामा २०५३ र २०६२ सालमा नारायण महर्जन प्रहरी दमनको पक्राउमा पर्नुभयो । देशको विकासमा नेमकिपाको मोडल भक्तपुर नगरपालिकाले सही कार्यान्वयन गरी देशको सर्वोत्कृष्ट नगर हुन सफल भएको सबै पालिकालाई नमूना नगर बनाउन पालिकासंग समन्वय गरी जनपक्षीय नीति नियम बनाउन हाम्रो प्रयास रहनेछ भन्ने प्रतिबद्धता नारायण महर्जनले पोख्नु भएको छ । नारायण महर्जनले नेमकिपाको मादल चिन्हमा छाप लगाई मंसीर ४ को निर्वाचनमा विजय गराउन जनसमुदाय समक्ष आह्वान गर्दै चुनावी एजेण्डा र पार्टीको प्रतिबद्धता यसरी सुनाउनु हुन्छ । देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षाको संघर्ष अघि बढाउन, देशलाई सिक्किम बनाउन खोज्ने ‘नेपाली लेन्डुपहरु’लाई परास्त गर्न, भारतीय एकाधिकार पूँजी र अमेरिकी साम्राज्यवादको हस्तक्षेप विरुद्ध संघर्ष चालु राख्न मादल चिन्हमा मतदान गरी नेपाल मजदुर किसान पार्टीलाई जिताउनु पर्छ भन्ने तर्क राख्नु हुन्छ नारायण महर्जन । यस्तै नारायण महर्जन भन्नु हुन्छ, ‘संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्न, अमेरिकी साम्राज्यवादसंगको देशघाती एमसीसी सम्झौता, एसपीपी नामको सैनिक साझेदारी खारेज गराउन, विदेशीले नागरिकता पाउने र नेपाली उद्योगी व्यापारीलाई नांगले पसलमा झार्न नागरिकता विधेयक खारेज गराउन नेमकिपालाई जिताउनु पर्छ ।’ माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गराउन, भक्तपुर नगरपालिकाबाट संचालन हुने ख्वप विश्वविद्यालय विधेयक पारित गराउन, स्वास्थ्य सेवा निःशुल्क र सुलभ गराउन, ज्येष्ठ नागरिक, अशक्त, टुहुरा टुहुरीको आवश्यक ब्यवस्था गराउन र हरेक प्रदेशमा प्रदेशस्तरीय विश्वविद्यालय र अस्पताल निर्माण गराउन नेमकिपाको पहलकदमीलाई निरन्तरता दिने जानकारी पनि नारायण महर्जन राख्नु हुन्छ । यस्तै महर्जनले महिलाहरुको श्रमशक्ति बृद्धि गर्न स्थानीय तहको वडा र टोलमा शिशुस्याहार केन्द्र तथा बालोद्यान संचालन गर्न र गराउन नेमकिपाको योजना रहेको जानकारी दिदै छुवाछुत, छाउपडी, बोक्साबोक्सी लगायत अन्धविश्वासलाई अन्त्य गर्ने र गराउन पनि नेमकिपा सत्तामा जानै पर्ने धारणा राख्नु हुन्छ । नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती खारेज गराई युवालाई स्वदेशमा रोजगारीको व्यवस्था गराउनु पर्छ भन्ने आफ्नो पार्टीको अवधारणा रहेको जानकारी दिदै महर्जन भन्नु हुन्छ, ‘कृषिमामा आत्मनिर्भर बनाउन, जमिन जोत्नेलाई वितरण गराउन र रासायनिक मल कारखाना स्थापना गराउन तथा किसान, मजदुर र कामदार वर्गको हितमा कानून बनाउन, बढ्दो वातावरणीय प्रदूषण तथा अव्यवस्थित बस्ती विकास रोकेर देशको सन्तुलित विकास गर्न एवं प्राकृतिक स्रोत र सम्पदा तथा सांस्कृतिक सम्पदा संरक्षण गर्नको लागि पनि नेमकिपा शासन सत्तामा जान अत्यावश्यक भइसकेको छ । त्यसैले यसपालीको निर्वाचनमा मादल चिन्हमा मतदान गरी नेमकिपालाई अत्याधिक बहुमतले विजय गराउन जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’ यस्तै, निर्वाचनलाई क्रान्तिको संकेत गर्ने ब्यारोमिटरको रुपमा उपयोग गर्न, सिद्धान्तहीन निर्वाचन गठबन्धनमार्फत पूँजीवादी सरकारको भागबन्डाको चाँजोपाँजो मिलाउनेहरुलाई हराउनु पर्ने धारणा राख्नु हुन्छ नारायण महर्जन । उहाँले चुनावबाट समाजवाद ल्याउने पूँजीवादी पार्टीहरुको खोटा विचारलाई खण्डन गर्न, निर्वाचनमा सामान र पैसा बाँड्ने तथा भोज खुवाएर जनतालाई धोका दिने शासक दलहरुलाई हराउन जनसमुदायमा आह्वान गर्नुहुन्छ । निर्वाचनपछि सामानको मूल्य बढाउने र पटकपटक सरकार कब्जा गरेर जनतालाई दुःख दिनेहरुलाई यसपटकको निर्वाचनमा हराउनै पर्ने विचार राख्दै नारायण महर्जन भन्नु हुन्छ, ‘भ्रष्टाचारी, कालाबजारिया, तस्कर, कानून हातमा लिने र गुण्डागर्दी गर्ने दल र उम्मेदवारहरुलाई यसपटकको चुनावमा हराउनु पर्छ । दुईदलीय तानाशाही व्यवस्था उन्मुख शासक दलहरुलाई उदङ्ग्याउन र प्रजातन्त्रविरोधी तीन प्रतिशतको मत सीमा खारेज गराउन, देश र जनताको इमान्दारीपूर्वक सेवा गर्न, देशघाती कोशी, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो र पश्चिम सेती लगायतका सन्धि सम्झौता एवं सन् १९५० को असमान सन्धि खारेज गराउनको लागि पनि नेमकिपाको पहलकदमी हुने प्रतिबद्धता जाहेर गर्दछु ।’ राज्यको स्वामित्वमा देशको औद्योगिक विकास गराउन नेमकिपा अगाडि बढ्ने विचार राख्दै नारायण महर्जन अन्तमा भन्नु हुन्छ, ‘पूँजीवादको विकास गर्ने भन्दै कार्यकर्तालाई भ्रष्टाचार गर्न र कमिसन खान लगाउने शासक दलहरुलाई मंसीर ४ गतेको निर्वाचनबाट हराउन सम्पूर्ण मतदाता एवं सचेत नागरिकहरुलाई हार्दिक अनुरोध गर्दछु ।’





