काठमाडौं ।
सरकारविरुद्ध औषधी व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् । मंगलबार काठमाडौंको बिजुलीबजारस्थित औषधी व्यवस्था विभागको कार्यालयमा पुगेर व्यवसायीहरूले संशोधित औषधी ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् । नेपाल औषधी व्यवसायी संघ, काठमाडौंका महासचिव शुभमान श्रेष्ठले संस्थाको नवीकरण एक महिनाभित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरूले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनु परेको बताएका छन् । श्रेष्ठले सो माग आगामी नौ दिनभित्र सम्बोधन नभए आफूहरू कडा आन्दोलनमा उत्रने समेत बताएका छन् । औषधी ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति व्यवसायीहरूको आपत्ति रहेको छ । यही क्रममा औषधी व्यवसायीहरुले समयमा नवीकरण नभए नवीकरण दस्तुर पनि सय प्रतिशत नै तिर्नुपर्ने सो ऐनको प्रावधान पनि मान्य नहुने भन्दै आक्रोश व्यक्त गरेका छन् ।





