– कीर्तिपुर नगरपालिका वडा नं. २ संगको सहकार्यमा इन्द्रायणी परिवार क्लबको आयोजनामा भएको प्रथम यू–१८ ब्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कीर्तिपुर नगरपालिका १० वडा चिलञ्चो निवासी समन्त भद्र बज्राचार्यले प्रथम स्थान हासिल गर्न सफल भएको छ । यस्तै उक्त प्रतियोगितामा निसन महर्जन द्वितीय तथा गगन बि.के. र सुजेन महर्जन तृतीय स्थान हासिल गर्न सफल भएको थियो । उक्त प्रतियोगिताको समापन कार्यक्रममा भाद्र महिनादेखि नयाँ खेलाडीहरु उत्पादन गर्ने लक्ष्य एवं उद्देश्यका साथ प्रत्येक मंगलबार र शुक्रबार प्रतियोगितामा सम्मिलित खेलाडीहरु लगायत अन्य खेलाडीहरु सहभागी गरी बेलुकी फ्लड लाइटमा प्रशिक्षात्मक कार्यक्रम गरिने जानकारी आयोजक संस्था इन्द्रायणी परिवार क्लबले दिएको छ । नेपाल ब्याडमिन्टन संघसंग समवन्वय गरी कीर्तिपुर नगरपालिका वडा नं. २ र इन्द्रायणी परिवार क्लबको संयोजकत्वमा प्रत्येक वडाबाट यू–१८ खेलाडीहरु समावेश गरी कीर्तिपुरका राष्ट्रिय ब्याडमिन्टन रेफ्री ओममुनि बज्राचार्यबाट नियमित रुपमा प्रशिक्षण गराउने योजना रहेको जानकारी पनि समावेश कार्यक्रममा दिएको छ । समापन कार्यक्रममा उक्त योजना अन्तर्गत पाँच वर्षे दीर्घकालीन योजनाको स्वागत गर्दै कीर्तिपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष ई. रुपेश महर्जनले यस्तो उत्पादनशील कार्यमा हातेमालो गर्दै नियमित रुपमा आर्थिक एवं भौतिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।