सलिना न्यौपाने
कृषि तथा पशु विज्ञान संस्थान, टीयू, कीर्तिपुरमा एम.एससी.एजी
कीर्तिपुरलाई शैक्षिक केन्द्रको रूपमा चिनिन्छ, जहाँ नेपालको पहिलो विश्वविद्यालय,त्रिभुवन विश्वविद्यालय अवस्थित छ र कृषि तथा पशु विज्ञान संस्थान, जहाँ म पढ्छु पनि यही ठाउँमा अवस्थित छ। जब म यस संस्थानमा भर्ना भएँ, एउटा विचारले मलाई मेरो हृदय देखि पिरल्यो, कृषिको बारेमा कसरी सिक्ने जहाँ अन्वेषण गर्न धेरै कम कृषि योग्य जमिन छ। मेरो वरपरका सबै ठाउँहरु ठोस घरहरुले भरिएका कारण यी प्रश्नहरू मेरा लागि सामान्य थिए।
तर मैले स्नातकोत्तर अध्ययनका क्रममा यी प्रश्नहरुको जवाफ पाएँ। मलाई थाहा भयो कि कीर्तिपुरका स्थानीयहरुलाई यहाँ अवस्थित वनस्पतिका बारेमा गहिरो ज्ञान छ।कीर्तिपुरका मानिसहरूसँग वनस्पतिका बारेमा राम्रो अन्तर्दृष्टि छ भनेर पुष्टि गर्न मैले स्थानीय नेवारी मानिसहरूसँग प्रमुख सूचनादाता अन्तर्वार्ता सञ्चालन गरे।
भाजङ्गलका स्थानीयहरूको अन्तर्वार्ताको आधारमा मैले थाहा पाएँ कि कीर्तिपुर पहिले कंक्रीटको जंगलले भरिएको थिएन। त्यहाँ उर्वर कृषि जमिनहरु थिए, यसलाई कृषि केन्द्रको रूपमा चिनिन्थ्यो। तर समय बित्दै जाँदा जग्गाहरु प्लटिङ गरेर अन्य जिल्लाबाट आएका आप्रवासीहरु र आवास कम्पनीहरुलाई बेचिएको थियो जसले गर्दा स्थानीय वनस्पतिको क्षति भयो।
यी सबै शहरीकरणको बावजुद वृद्ध नेवारी सूचनादाताहरु वनस्पति ज्ञानले भरिपूर्ण छन्। अझै पनि तिनीहरूले आफ्नो वातावरण वरपर रहेका औषधीय बिरुवाहरुको राम्रो प्रयोग गर्छन्। त्यसैले मैले कीर्तिपुरको नेवारी समुदायको परम्परागत, सांस्कृतिक र औषधीय मूल्य भएका केही विशिष्ट बोटबिरुवाहरु सम्बन्धित जानकारी सङ्कलन गर्ने प्रयास गरेको छु।
धार्मिक – सांस्कृतिक कार्यमा प्रयोग गरिने वनस्पतिहरु
क. बेलपत्र:
बेलपत्र र बेल नेवार जातीले धेरै प्रयोग गर्ने बनस्पतिमा पर्दछ। नेवार जातीमा हुने बेल विवाह जसमा कुमारी कन्या 5 वर्षको हुँदा बेलसँग विवाह गराइदिने गरिन्छ। बेललाई विष्णुको स्वरूप पनि मानिने भएकाले बेलसँग कन्याको विवाह गराईदिने चलन रहेको छ। साथै ३ पात भएको बेलपत्र शिवजिको अत्यन्त प्यारो मानिन्छ र प्राय शिवरात्री को दिन शिवजिलाई चढाइने गरिन्छ ।
ख. (सिना स्वां) भीमसेन पातिः
नेवार समुदायमा भिमसेन पाति पुजा, यज्ञा आदिमा प्रयोगको लागि अत्यन्त पवित्र मानिने गरीन्छ। विशेष गरी स्वस्थानी पुजामा हरेक पल्ट स्वाहा गर्दा भिन्सेन पाति चढाइन्छ र चौरासी पुजा जस्लाई नेवारी भाषामा“जङ् क”भनिन्छ, यस पुजामा पनि भिमसेन पातिको प्रयोग अनिवार्य मानिन्छ ।
ग. दुबो:
गणेशको स्वरुप मानिने दुबो कुनै पनि पुजा थालनी गर्नलाई अनिवार्य मानिन्छ। गणेशलाई दुबो नचढाई पुजा सुरु गरेमा पूजा अधुरो रहने विश्वास रहिआएको छ।
घ. (मुस्वा) ओरिग्यानमः
यस बनस्पतीको प्रयोग विशेष गरी पुजाआजा, यजमा, जात्रामा र कलस बनाउदा गर्ने गरिन्छ। नेवारको छुट्टै जाती मनिकार जसले फूलको खेती गर्ने गर्दछन्। उनीहरूलाई यो वनस्पति अत्यन्त महत्वपूर्ण छ।
ङ् (गुन्केरा सां) गुनकेशरीः
नेवार जातीको विवाह हुँदा बेहुलाले गुनकेशरी आफ्नो ढाका टोपीको दाहिने तिर लगाउन पर्ने र बेहुलिले पनि आफ्नो शिरमा सिउरीन, पर्ने आफ्नै धार्मिक चलन र मान्यता रहेको छ।
च. सयपत्री,, मखमलीः
मखमली छिट्टै नओईलाउने भाएकाले यसको माला बनाएर तिहारमा लगाउने गरिन्छ। सयपत्री र मखमली फुल मिसाएर बनाएको माला अत्यन्त आकर्षक देखिन्छ ।
छ. गोदावरी, लालुपाते:
कुनै पनि पुजा, यज्ञ, वा जात्रा भयो भने वा पुजाको लागि थाली कलस सजाउन फुलहरुको प्रयोग गरिन्छ।
आहारजन्य वनस्पति
- करकलोः
नेवार समुदायमा हुने इन्द्रजात्राको बेलामा करकलोको अचार बनाउन अनिवार्य हुन्छ। करकलोको अचारलाई नेवारीमा “सवां” भन्ने गरिन्छ । सवां जात्रामा आउने प्रत्यक व्यक्तिलाई बाडिने गरिन्छ। यो निकै मिठो र स्वादिलो हुन्छ। यसको आपनो धार्मीक र सांस्कृक्तिक महत्व रहेको छ।
ख. गुन्द्रुक : परम्परागत गुन्द्रुक अमिले र निकै स्वादिलो हुन्छ। डिंडो सँग गुन्दुकको झोलको त मज्जा बेग्लै छ। मुलाको चाना, मुलाको पात, रायोको साग आदिलाई थिचेर डिब्बामा खढ्ने र त्यो केहिदिन पछि अमिलो हुन्छ। त्यसलाई निकालेर सुकाउने। यसरी सुकाउने पछि गुन्द्रुक बन्छ ।
ग. तरुलः यसको तरकारी निकै स्वादिलो र पोषणयुक्त मानिन्छ। विशेष गरी माघे संक्रान्तिको दिन संकलन गरी पकाए खाने गरिन्छ ।
घ. (ईकचा) बेथे: यसबाट विभिन्न परिकार जस्तै साग र पराठा बनाउने गरिन्छ। बेथेलाई धेरै तरीकाले पकाउने गरिन्छ। । बेथेलाई उमालेर त्यसको पानी फाल्ने। त्यसलाई उसिनेको आलुमा नुन, खुर्सानी, बेसार र मसला राखी मोलेर तेसले झानी यललाई चिउरासँग मिसाएर खान असाध्यै मिठो हुन्छ ।
औषधीय बिरुवाहरु
नेवार समुदायले प्राथ परम्परागतमा औषधीय वनस्पति प्रयोगमा विश्वास गर्दछन् केहि औषधीय वनस्पतिहरु यस प्रकार रहेका छन्।
क . घोडटाप्रेः
घोडटाप्रे को प्रयोग मस्तिष्कको शक्ति बढाउन, चिन्ता र तनाब घटाउन, घुँडाको दुखाई कम गर्न, पेटको समस्याक लागि, छाला रोग निको पार्न साथै जलेको र काटेको घाउ निको पार्नको लागि गरिन्छ।
ख . बेलः
बेलको धार्मिक साथै औषधिय महत्व पनि रहेको छ। बेलको रसले पाचन प्रणाली सुधार गर्न र पखला लागेमा पनि बेल खाने गरिन्छ। बेलले रगत सफा गर्ने, मधुमेह नियन्त्रण गर्न र रोग प्ररिरोधात्मक क्षमता बढाउने गर्दछ।
ख . (हन: बल) हर्रोः
हर्रोको प्रयोग पाचन प्रणाली सुधार्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र रुगा खोकी लागेको बेलमा पनि गर्ने गरिन्छ। यसले दाँत र गिजालाई स्वास्थ पार्ने रगत शुद्ध पार्ने, र छालाको रोग निको पार्ने गर्दछ।
घ. भुइँअमला:
भुइँ अमला कलेजोको लागि फाईदाजनक मानिन्छ। यसले मधुमेह नियन्त्रण गर्ने, पाचन प्रणाली सुधार गर्ने, र पत्थरीको समस्यामा पनि प्रयोग ‘हुने गर्छ। साथै यसले छालाको रोगहरुको उपचार गर्ने र यसलाई भाईरसविरुद्ध प्रभावकारी मानिन्छ।
कीर्तिपुरका मानिसहरू स्थानीय वनस्पतिको प्रयोगको बारेमा राम्रो अन्तर्दृष्टि राख्छन्। विशेष गरी नेवार समुदायमा वनस्पतिको प्रयोग घरको भान्सा देखिलिएर मन्दिरसम्म हुने गर्दछ। यी बावजुद पनि युवाहरुलाई आफ्नो दैनिक जीवनमा बोटविरुवाको महत्त्व थाहा पाउन सकेका छैनन् र प्राथमिकताको अभावमा, वनस्पतिको संरक्षण जोखिममा परेको छ।अन्तर्वातांको क्रममा मैले थाहा पाएँ कि युवाहरूले बिस्तारै आफ्ना पुर्खाहरूले बनाएको पहिचान बिर्सिरहेका छन्। यी महत्त्वपूर्ण विरुवाहरूको बारेमा ज्ञान केवल वृद्धहरूमा मौखिक रुपमा मात्र सिमित छ।आधुनिकीकरण! युवाहरूको वनस्पति ज्ञान र कृषि अभ्यासबाट विचलनको कारण हुन सक्छ। शहरीकरणका कारण वनस्पति लोप हुँदै गइरहेको छ, वर्तमान युवाहरू आधुनिक सूचना प्रविधि सम्बन्धी क्षेत्रमा गहिरो चासो राख्छन्, जबकि कृषिलाई निस्रस्तरीय क्षेत्रको रुपमा हेरिन्छ। किसानका छोराछोरी भएको कारणले गर्दा उनीहरू लज्जित महसुस गर्छन्। युवाहरू कृषि ज्ञानबाट विचलित भइरहेका भएतापनि, वनस्पति सम्बन्धित ज्ञान फैलाउने संस्थाहरूको अभाव पनि विचारणीय विषय हो।
नेवार समुदायको जीवनशैली, परम्परा र संस्कृतिमा वनस्पतिको प्रयोग अपरिहार्य मानिन्छ। औषधी उपचार, पूजाआजा र सांस्कृतिक अनुष्ठानमा प्रयोग गरिने विभिन्न वनस्पतिहरू दैनिक जीवनमा धेरै महत्त्वपूर्ण छन् । तर यी परापरागत ज्ञान लोप हुने खतरा बढ्दो देखिन्छ। त्यसैले नेवार समुदाय सँग सम्बन्धित ज्ञान संस्क्षण, दस्तावजीकरण रवैज्ञानिक अनुसन्धान आवश्यक छ। मौखिक रुपमा मात्र ज्ञान प्रसारित हुनाले ज्ञानको ढिलो प्रसारको कारण, वनस्पति सम्बन्धी जानकारी सधैंको लागि हराउन सक्छ। त्यसैले युवाहरुलाई वनस्पतिको प्रयोग सम्बन्धी आफ्नो बहुमूल्य पुर्खाको ज्ञानको संरक्षणको लागि सचेत गराउनु पर्छ र अगाडि ल्याउनु पर्छ।