भक्तपुर – सिंहदरबारमा भएको आगजनी नेपाली सेनाबाहेक कसैले गर्न नसक्ने दाबी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे रोहितले गरेका छन् ।
बिजुक्छेले ख्वप कलेजमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस घटनामा अमेरिका र भारतको हस्तक्षेप रहेको आरोप लगाउँदै भने, “तर अमेरिका र भारतले नेपालीलाई प्रयोग गरेको छ ।”
नेमकिपा अध्यक्ष बिजुक्छेका अनुसार, सिंहदरबारमा बाहिरबाट आगजनी सम्भव छैन र यस घटनामा भित्रैबाट संलग्नता भएको छ ।
बिजुक्छेले भने, “हरेक सेना मर्नको लागि तयार हुन्छ, तर अहिले जे भयो त्यो नेपाली युवाहरूले नबुझेका कारण भयो । जे तिनीहरूलाई पढाइएको छ, त्यही गलत भयो ।”
बिजुक्छेले जेन–जी आन्दोलनको नेतृत्वले संविधानको बारेमा नबुझेको र त्यसैले घटनाहरू घटेको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले पनि डरका कारण संविधान विपरीत काम गरेको नारायणमान बिजुक्छेले टिप्पणी गरे ।
बिजुक्छेले युवाहरूलाई सचेत हुन र संविधानको रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा भिडिओमार्फत् देश र सेनामा भरोसा कायम राख्न जनतालाई सन्देश दिएका छन् ।