काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङसँग नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भेट गरेका छन् । बुधबार अदालतको आदेशपछि प्राधिकरण फर्किएर पदबहाली गरेका शाक्यले आज बिहीबार आफ्ना तालुकदार मन्त्री घिसिङसँग भेट गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आदेश दिएको थियो । सर्वोच्च अदालतको परमादेशपछि प्राधिकरणको प्रबन्ध निर्देशक पदमा पुनर्बहाली भएसँगै शाक्यले बुधबार पदबहाली गरेका थिए । स्रोतका अनुसार शाक्यले अदालतको आदेश अनुसार बुधवारदेखि प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा हाजिर गरेको जानकारी ऊर्जामन्त्री घिसिङ र ऊर्जा सचिव चिरञ्जीवी चटौतलाई गराएका छन् । शाक्यले उक्त विषयको जानकारी दिएसँगै ऊर्जामन्त्री घिसिङले आफ्नो मुख्य ध्येय परिणाममुखी काम गर्ने भएकाले सोही अनुसार रिजल्ट आउने गरी काम गर्न निर्देशन दिएका छन् । भेटमा मन्त्री घिसिङले शाक्यलाई विगत सम्झाउँदै भनेका छन्, ‘मैले सकिनँ, मलाई सरुवा गर्दा हुन्छ भनेपछि तपाईंसँग सल्लाह गरेर नै जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यको रूपमा सरुवा गरेको थिएँ । तर तपाईं अदालत जानु भयो । अदालतबाट पुनर्बहाली भएर आउनु भएको छ । अब द्वन्द्व बढाउने तिरभन्दा पनि परिणाममुखी काम देखाउने गरी काम गर्न लाग्नुस् ।’ मन्त्री घिसिङले निर्देशक शाक्यलाई विगतमा भएका बाहिरका सम्बन्धहरूलाई बाहिर राखेर सरकार र प्राधिकरणको हितमा परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन् । उनले जोखिम लिएर भए पनि सबैलाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरेको स्रोतको भनाइ रहेको छ । स्रोतका अनुसार मन्त्री घिसिङले शाक्यलाई अदालतको आदेशले पुनर्बहाली भएको भनेर सबै काम आफूले मात्रै गर्ने भनेर नसोच्न र सबै सरोकारवालाहरूको गुनासोलाई समेत सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रीले शाक्यलाई प्राधिकरणमा आवश्यक सामानहरूको अभाव नहुने गरी काम गर्न पनि निर्देशन दिएका छन् । मन्त्री घिसिङको निर्देशनपछि निर्देशक शाक्यले विगतमा पनि मिलेर काम गरेको भन्दै आगामी दिनमा पनि पहिलेभन्दा बढी जोस र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले बताएको छ । उनले नेपाल सरकारको नीति निर्देशन र प्राधिकरणको हितलाई सर्वोपरि ठानेर अघि बढ्ने पनि प्रतिबद्धता जनाएका छन् ।





