काठमाडौं ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजेन्द्रकुमार केसी उम्मेदवार नहुने भएका छन् । काठमाडौं क्षेत्र नम्बर १० बाट तीन पटक चुनाव जितेका राजेन्द्रकुमार केसी एकपटक खेलकुदमन्त्री समेत भएका छन् । केसीले आफैले अब आफू चुनाव नलड्ने घोषणा गरेका हुन् । अब युवा पुस्तालाई अघि बढाउनको लागि आफू चुनावी मैदानबाट ब्याक भएको केसीले स्पष्ट पारेका छन् । केसीले आफू पार्टीमा पुस्तान्तरणको पक्षमा रहेको समेत खुलाएका छन् । राजेन्द्रकुमार केसीले आफू चुनाव नलड्ने कुरा पार्टीको माथिल्लो तहका नेताहरुलाई जानकारी गराईसकेका छन् । पार्टीभित्र रुपान्तरणको आवाज उठेको बेलामा आफूले त्यो आवाजलाई सम्बोधन गर्नेगरि कदम चाल्न लागेको केसीको भनाई रहेको छ । अब पार्टीमा पटक पटक अवसर पाएकाहरुले छोड्नुपर्ने र नयाँ पुस्तालाई अघि बढाउनुपर्ने मत केसीले राख्दै आएका छन् । केसीले आफ्नो निर्वाचन क्षेत्र एकदमै बलियो भएकोले पार्टीका जो कोही नेताले चुनाव लड्दा पनि सहज अवस्था रहेको र चुनाव जित्न सक्ने दाबी गरेका छन् । अहिले नेपाली कांग्रेसले धमाधम उम्मेदवार सिफारिस गरिरहेको छन् ।





