काठमाडौंस्थित इतुंबहालका वि.सं. २०३७ सालमा हराएको १५–१८ औँ शताब्दीको तीन बहुमूल्य पौभाः चित्र पहिलेकै यथास्थनमा फर्काइएका छन् ।
श्री केशचन्द्र महाविहारको करिब ५५० वर्ष पुराना चित्रकलामा “चिन्तामणि लोकेश्वर”, “केशचन्द आःजु भैरव दर्शन गरिरहेको” तथा “गगनसिं र उहाँका दुई श्रीमती” रहेका छन् ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल राष्ट्रिय संग्रहालयको हलमा अमेरिकाबाट फिर्ता भएका ती पौभाः श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यलाई हस्तान्तरण गरेका छन् ।
करिब चार महिनाअघि अमेरिकाबाट फर्काइएका ती पौभाः पुरातत्व विभागले छाउनीस्थित नेपाल राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरेको थियो । त्यसपछि विशेश सुरक्षासहित ती पौभाः राष्ट्रिय संग्रहालयमै रहे । यसबीच केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजले तीन पौभाःको उचित व्यवस्थापनमा काम गरिरहेको थियो । आफू तयार भएपछि केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजले राष्ट्रिय संग्रहालयलाई ती पौभाःको संरक्षण, सम्बद्र्धन र सुरक्षामा विशेष ध्यान दिने प्रत्याभूति दिलाएको थियो । त्यसपछि राष्ट्रिय संग्रहालहालय पहिलेकै स्थानमा प्रतिस्थापन गर्न राजी भएको हो । यस सम्बन्धमा राष्ट्रिय संग्रहालय र केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजबीच सम्झौता पनि भएको छ ।
एसियाकै प्रतिनिधित्व गर्नसक्ने पौभाः सम्पदाविदहरुले इतुंबहालका यी पौभाःले नेपालको मात्र नभई एसियाकै प्रतिनिधित्व गर्न सक्छ भनेका छन् । सांस्कृतिक र धार्मिक महत्वले भरिएका यी पौभाः गुणस्तरीय तथा ठूलो आकारका छन् । गगनसिंको पौभाः (१९१.८ x १६१.९ सेमी) सबभन्दा ठूलो आकारको रहेको छ । चिन्तामणि लोकेश्वरको आकार १६४.४ x १४३.५ र केशचन्द आःजु भैरव दर्शन गरिरहेको पौभाःको आकार १६६.४ x १३९.६ सेमीका छन् ।
ती पौभाः इतुंबहाल फर्काउन ठूलो संख्यामा स्थानीय र सम्पदाप्रेमी राष्ट्रिय संग्रहालय पुगेका थिए । राष्ट्रिय संग्रहालयको हलमा उपप्रधानमन्त्री सिंह, बागमती प्रदेश सांसद शैलेन्द्र वज्राचार्य, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र राष्ट्रिय संग्रहालयकी प्रमुख अरुणा नकर्मीको उपस्थितिमा हस्तान्तरण कार्यक्रमपछि ती पौभाः गुँला बाजासहित इतुंबहाल ल्याइएको थियो ।
ती पौभाः २०३७ भदौ २९ गते महाविहारपरिसरबाटै हराएका थिए । त्यसपछि करिब २३ वर्षसम्म यी पौभाः कहाँ थिए भन्नेबारेमा अज्ञात नै रह्यो । सन् २००३ मा यी पौभाः अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकोगोमा प्रदर्शनीमा राखिएको पत्ता लागेपछि महाविहार संरक्षण समाजले ती पौभाः फर्काउन पहल गरेको थियो ।
समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले इतुंबहालका पौभाः अमेरिकाको सिकागोमा प्रदर्शनीमा राखिएको थाहा पाएपछि ती सम्पदा फर्काउन सक्रिय भएको जानकारी दिए । “पुरातत्व विभागमा पटक पटक जाहेरी निवेदन दिनुका साथै इन्टरपोलमा समेत उजुरी दियौँ । यसकै आधारमा अमेरिकाको सम्बन्धित निकायमा ती पौभाः फिर्ता गर्ने कार्यका लागि पहल भयो । यसका साथै सम्पदा जोगाउने विभिन्न संस्था हेरिटेज रिकभरी क्याम्पेन, लस्ट आट्र्स अफ नेपालसँग पनि समन्वय गर्यौं । अहिले करिब दुई दशकभन्दा बढी समयको प्रयास सफल भएको छ ।
संरक्षण, सम्बद्र्धनमा चासो
उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनमत संग्रह भइरहेको समयमा चोरी भएका देशकै गौरवको रुपमा रहेका पौभाः कैयौं वर्षको प्रयासपछि पुनः यथास्थानमा पुगेकामा खुशी व्यक्त गर्दै यी अमूल्य सम्पदालाई सुरक्षित राख्नु पर्छ र यसमा सरकारको सहयोग हुने छ, भने । यसैगरी प्रदेश सभा सांसद शैलेन्द्र मान वज्राचार्यले पनि यी पौभाःको संरक्षणमै जोड दिनुहुँदै यी सम्पदाको संरक्षण एवं सम्बद्र्धनमा नयाँ पुस्ता लाग्नुपर्ने धारणा राखे ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललेसम्पदा पहिलेकै ठाउँमा पुनस्र्थापना गरेपछि एउटा च्याप्टर सकिएको अब संरक्षणको नयाँ च्याप्टर सुरु भएको छ, भनिन् । यी सम्पदा फर्काउन काठमाडौं महानगरपालिकाले पनि महत्वपूर्ण पहल गरेको थियो ।
राष्ट्रिय संग्रहालयकी प्रमुख अरुणा नकर्मीले पुरातात्विक धरोहर यथास्थानमै प्रतिस्थापन गर्नु पर्छ, ती सम्पदा सोही स्थानमा शोभा भन्दै यस्ता अमूल्य सम्पदा व्यवस्थित रूपमा संरक्षणको पक्ष भने अझै पनि चिन्ताको विषयको रुपमा रहेको छ भनिन् ।