काठमाडौं – ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । देशमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीको भनाई रहेको छ । प्रधानमन्त्री ओली भन्छन्, “मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो।” तर, विपक्षी दलहरूलाई किन स्थिरता अप्रिय लागेको ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे । प्रधानमन्त्री ओली भन्छन्, “तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसदमा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो। बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण के–का लागि ?” अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही समीकरण रहने प्रधानमन्त्री ओलीले दाबी गरे । प्रधानमन्त्री ओली भन्छन्, “देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।”
प्रम ओली भन्छन्, “०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ…”
