18.7 C
Kirtipur
Tuesday, September 16, 2025

जेन–जीद्वारा ध्वस्त कीर्तिपुर नगरपालिका संचालन हुने, लुटपाटका सामाग्री फिर्ता गर्न आह्वान

Must read


जेन–जी युवा पुस्ताको आन्दोलनका क्रममा भाद्र २४ गते मंगलवार तोडफोड एवं आगलागीका कारण ध्वस्त भएको कीर्तिपुर नगरपालिका पुनः संचालन गरी विभिन्न सेवाहरु प्रदान गर्ने जानकारी कीर्तिपुर नगरपालिकाले दिएको छ ।

कीर्तिपुर नगरपालिकाले आकस्मिक सेवा संचालन सम्बन्धमा शीर्षक राखी भाद्र २९ गते आइतबार एक पत्र सार्वजनिक गरी उक्त जानकारी दिएको हो ।

सार्वजनिक भएको पत्रमा भनिएको छ, “मिति २०८२ भाद्र २३ र २४ गतेका दिन जेन–जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडका कारण कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको प्रशासनिक भवन पूर्ण रुपमा क्षतिग्रस्त हुन गएकोले अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाबाट प्रदान गरिने तपसिल बमोजिमका आकस्मिक सेवाहरु कीर्तिपुर पर्यटक सूचना केन्द्रबाट प्रदान गरिने ब्यहोरा सम्बन्धित सबै सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”

सार्वजनिक भएको कीर्तिपुर नगरपालिकाको आकस्मिक सेवा संचालन सम्बन्धको पत्रमा स्वास्थ्य सेवा, एम्बुलेन्स तथा शव बाहन सेवा, स्वास्थ्य उपचारको लागि विपन्न नागरिक उपचार सिफारिस र कन्सुलर प्रमाणीकरण सेवा प्रदान गरिने जानकारी दिइएको छ ।

यस्तै, कीर्तिपुर नगरपालिकाले भाद्र २९ गते आइतबारकै मितिमा कीर्तिपुर नगरपालिकाको हार्दिक अपील शीर्षकको एक जानकारी पत्र पनि सार्वजनिक गरिएको छ ।

उक्त जानकारी पत्रमा मिति २०८२ भाद्र २३ र २४ गतेका दिन जेन–जीद्वारा भएको आन्दोलनका क्रममा कीर्तिपुर नगरपालिकाको कार्यालयको प्रशासनिक भवन तथा केही वडा कार्यालयहरुको संरचना तथा सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट जस्ता अपराधिक गतिविधिहरु भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ भनी उल्लेख गरिएको छ ।

उक्त जानकारी पत्रमा भनिएको छ, “उक्त घटनाको क्रममा लुटपाट गरी लिएका सामाग्रीहरु यथाशीघ्र सम्बन्धित व्यक्तिहरुले नगर कार्यपालिकाको कार्यालयमा फिर्ता गर्न हार्दिक अनुरोध गरिन्छ । यसका साथै उक्त सामाग्रीहरु फिर्ता गर्ने सम्बन्धमा घरधनी, छरछिमेक, समुदाय र नगरवासीहरुमा सहयोग गरिदिन समेत हार्दिक अपील गरिन्छ ।”

साथै यस प्रकारका कार्यहरु नगरको शान्तिर सुव्यवस्था र सार्वजनिक सम्पत्तिको सुरक्षा तथा सार्वजनिक सेवामाथि गम्भीर असर पु¥याउने खालका छन् भन्दै पत्रमा भनिएको छ, “नगरबासीका साझा सम्पत्तिको सुरक्षा सबैको सामुहिक जिम्मेवारी हो भन्ने कुरामा हामी स्मरण गराउँछौं ।”

पत्रमा सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । सम्पर्कका लागि राजकपुर श्रेष्ठ (९८४१३७३९४६) र राजकुमार महर्जन (९८४१३४८०१९) उल्लेख गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article