काठमाडौं । आफूलाई अघिल्लो सरकारले राजनीतिक प्रतिशोधको आधारमा मुद्दा लगाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको धारणा खोजेका छन् ।
नख्खु कारागारमा रहेका लामिछानेले यस्तो आह्वान गर्दै वर्तमान सरकारको धारणा खोजिरहेको भने पनि आफूले फेवर नखोजेको लामिछानेको भनाई थियो । उनले हिजो रवि लामिछानेलाई अन्याय भयो भन्नेहरुले आज केही त बोल्नुपर्ला भन्दै प्रधानमन्त्री सुशीला कार्कीसँग अपेक्षा राखेका छन् ।
पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा रहेको लामिछानेको भनाई थियो । त्यसको लागि आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्नेपनि उनले भनेका छन् ।
जेलबाट रवि लामिछानेको आह्वान ः
(१) अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ’फेवर’ होइन । हिजो ’अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला !
(२) पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ । आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ ।
(३) एकपटक चिठ्ठा परेकाहरू पटक–पटक परोस् भन्ने ठान्छन् । तर, संयोग दोहोरिरहँदैन नि ! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश÷लोभ छ । लोभीहरूले चिठ्ठा किन्न सक्छन् । तर, फेरि पर्छ नै भन्ने हुन्नँ । हरेक जालमा माछा पर्दैन नि !
(४) रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु छ । त्यो क्षणिक लाभ–हानी सोचेर बन्दैन । अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कमजोर हुन्न, मेहनत र समय कति लाग्छ त्यो ठूलो कुरा होइन ।





