काठमाडौं । मंगलबार राती गाजा क्षेत्रमा इजरायलले भीषण हवाई आक्रमण गरेको छ । गाजा शहरसँगै, बेत ला र खान युनिस सहितका केही अन्य शहरका घर, विद्यालय र बसोबासका लागि बनाइएका भवनहरूमा इजरायलले हवाई आक्रमण गरेको हो । हमासका स्वास्थ्य अधिकारीहरू र ‘सिविल डिफेन्स एजेन्सी’ का अनुसार आक्रमणबाट ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली अधिकारीहरूले हमासमाथि अमेरिकको पहलमा गरिएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । इजरायली रक्षामन्त्री इजराइल केट्जले हमासका तर्फबाट इजरायली सैनिकमाथि आक्रमण गरिएको र बन्धकको शव फर्काउनका लागि तय भएका शर्तहरू उल्लंघन भएको आरोप लगाएका छन् । उता हमासले आफ्नो तर्फबाट भएको भनिएको आक्रमणमा कुनै संलग्नता नरहेको दाबी गरेको छ । उसले आफू युद्धविरामका लागि पूर्ण प्रतिबद्ध रहेको पनि बताएको छ । यसअघि मंगलबार बेलुकी इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुको कार्यालयबाट जारी संक्षिप्त बयानमा सेनालाई भीषण आक्रमणका लागि निर्देशन दिइएको उल्लेख थियो । तर, आक्रमणको निर्देशन दिनुको कारण भने खुलाइएको थिएन ।
गाजामा इजरायलद्वारा ३३ प्यालेस्टाइनीको मृत्यु हुने गरी फेरि भीषण आक्रमण





