17 C
Kirtipur
Friday, October 31, 2025

मौसम पूर्वानुमान महाशाखाले भने आज बिहिबार राती भिषण पानी पर्ने

Must read

काठमाडौं । आज बिहिबार काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भैरहेको छ । आज बिहिबार दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार आज बिहिबार दिउँसो कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

पर्सि शनिबारसम्म नै वर्षा र हिमपात हुने तथा यसबाट दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले कोशी, मधेश र बागमतीका सबै जिल्लाहरु तथा दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको हो । महाशाखाका अनुसार अहिले देशमा बंगालको खाडीमा विकसित मोन्था चक्रवातसँगै पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दर्जन भन्दा बढी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।मौसमी प्रणालीको सम्भावित असरलाई ध्यानमा राख्दै प्राधिकरणले पाँच प्रदेशका विभिन्न जिल्लाहरूलाई विशेष सचेत रहन सूचित गरेको छ ।

सचेत रहनुपर्ने जिल्लाहरूमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा रहेका छन् ।

त्यस्तै, मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्ला यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवालाई पनि सतर्क रहन भनिएको छ ।

यसैगरी गण्डकी प्रदेशका गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ, मुस्ताङ तथा लुम्बिनी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङका बासिन्दालाई पनि उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article