आज चतुर्दशी यानि कि चःह्रे । चःह्रेमा पनि गथांमुगः चःह्रे । नेवार समुदायको आज गथांमुगः चःह्रेका दिनदेखि निरन्तर रुपमा चाड पर्व सुरु भएको छ । हरेक बर्ष गथांमुगः चःह्रे बाट चाडपर्व सुरु भएर सिथिःनख को दिन अन्त्य हुन्छ । यस गथांमुगः चःह्रे ले रोपाँइ सकेको र नेवारहरुको चाडपर्वहरु सुरु भएको संकेत गर्दछ । यस दिन सबैले आ–आफ्नो घर आँगन सफा गर्छन् र मन्दिरबाट ल्याएको जलले घर भरी छर्किन्छ । यसलाई नेपालभाषामा “सिन्हां ज्या ब्यंकेगु” भनिन्छ । त्यसै गरी बिषेश पुजा गरेर घरबाट भूत भगाइन्छ । साथै टोल–टोल मा “नर्कत” अथवा “छ्वाली” बाट बनाइएको तीन खुट्टे राक्षस (भूत) को प्रतिमा बनाइ आगो माथिबाट लगेर खोलासम्म तानेर लगिन्छ र खोलामा जलाएर आउने चलन छ । गथांमुगः र घण्टाकर्ण एकै होइन नि ! गथांमुगःलाई घण्टाकर्ण भनी भन्ने गरिन्छ, जुन सही होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । सायद उ भारत, काशीको हुनुपर्छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ । परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । सबै भूमिमा खेती किसानी गर्न जन संख्या कम भएको कारणले असम्भब प्रायः थियो, त्यो बेला । वर्षभरी राज्यलाई अन्न संकटबाट बचाउन पनि यहाँका किसानहरुले जसरी भए पनि यो काम गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाँइको बेला घरमा कोही मरे, लाशलाई सुकुलमा बेरी एक कुनामा थन्क्याउँदै सबै परिवार रोपाँइमा नै ब्यस्त भई रहन्थ्यो र रोपाँइ सकिसकेपछि मात्र शतगति काजक्रिया गरिन्थ्यो रे । यस रोपाँइ गर्ने कार्यलाई नेपाल भाषामा सिन्हां (मरेर) ज्या (काम) अर्थात् मरी मरीकन गर्नु पर्ने काम भनिन्छ । किसानी गर्नु भनेको साधारण काम होइन । यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम हो। तर राज्यमा सबै मान्छेहरु बलवान हुंदैनथ्यो । यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चढाई यो काम फत्ते गर्नु पर्दथ्यो, अनि त्यस्ता मान्छेको सहायताले सिन्हाज्या सजिलै गर्न सकिन्थ्यो । सिन्हाज्या सकिए पछि यी भूतहरुलाई बर्षभरी खाना खुवाई पाल्न त असम्भब प्रायः थियो । यसै कारणले भूतलाई श्रावण कृष्ण चतुर्दशी अर्थात् दिल्लागा चःह्रे गथांमुगः को दिन तान्त्रोक्तबिधि पूर्वक भगाईन्छ ।
आज गथांमुगः – हुँदै होइन नि : गथांमुगः र घण्टाकर्ण एकै होइन
