24.5 C
Kirtipur
Tuesday, September 16, 2025

अब नेपाल सरकारद्वारा मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत

Must read

काठमाडौं ÷मिर्गौलाका विरामीलाई अबदेखि ८ लाख ५० हजारसम्म नेपाल सरकारले स्वास्थ्य सेवामा सहुलियत गर्ने भएको छ ।

नेपाल सरकारले यसअघि विपन्न कार्यक्रम मार्फत एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोग लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य बीमा मार्फत थप एक लाख दिने भएको हो । उक्त एक लाखको सहुलियत क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले पाउने भएका छन् । यसअघि स्वास्थ्य बीमामा आवद्ध भएका मानिसले नियमित एक लाखसम्मको सेवा पाउँदै आएका थिए ।

स्वास्थ्य बीमा नियमावली २०७५ सुविधा सम्बन्धीको व्यवस्था अनुरुप थप एक लाख दिइने घोषणा गरिएको हो । नियमावलीमा भनिएको छ, “१ साउन २०७६ देखि लागु हुने गरी कडा रोग लागेका बीमितलाई थप एक लाख दिइने छ ।” तर यसका लागि अनिवार्य रूपमा स्वास्थ्य बीमामा भने आवद्ध हुनुपर्ने छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार चिकित्सकले कडा रोग लागेको पुष्टि गर्दै स्थानीय तहलाई सिफारिस गर्नुपर्ने छ । त्यसपछि स्थानीय तहले जिल्लामा रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयलाई सिफारिस गर्नेछ ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार पछिल्लो निर्णयको सहुलियत दिन केही प्राविधिक काम भइरहेकाले बीमितले सेवा पाउनका लागि केही हप्ता कुर्नुपर्ने हुन्छ । यसो हुँदा कडा रोगका लागेका मानिसले तीन लाखसम्मको सेवामा सहुलियत हुने भयो । यस्तै सबैभन्दा बढी भने मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई हुने देखिन्छ । किनकि सरकारको राष्ट्रिय कार्यक्रम मार्फत प्रत्यारोपण गर्ने बिरामीलाई ५ लाख ५० हजार दिने व्यवस्था छ ।

अब देखि मिर्गौलाका बिरामीले ८ लाख ५० हजारसम्मको सुविधा पाउने भएका छन् । उसो त प्रदेश सरकारले पनि कडा रोग लागेका बिरामीका लागि थप सहुलियत दिँदै आएका छन् । मिर्गौला फेल भएपछि उपचारका दुईवटा मात्र विकल्प रहन्छन्, डायलासिस र प्रत्यारोपण । मिर्गौला बिरामीका लागि सबभन्दा राम्रो विकल्प प्रत्यारोपण हो, जुन सहज र सुलभ छैन । प्रत्यारोपण नभइञ्जेल डायलासिस गरेर बाँच्नुपर्छ ।

विज्ञका अनुसार नेपालमा वार्षिक तीन हजार मिर्गौला बिरामी थपिन्छन् । हाल ३५ हजार हाराहारी मिर्गौला रोगी रहेको सरकारी अनुमान छ । प्रत्यारोपण गर्न सहज नहुँदा साताको दुई–तीनपटकसम्म नियमित गराउनुपर्ने डायलासिसमा बिरामीको चाप बढ्दै गएको छ । उसो त, प्रत्यारोपणपछि बिरामीले नियमित रूपमा औषधि सेवन गर्नुपर्ने हुन्छ । जुन सर्वसाधारण नेपालीको पहुँचमा छैन ।

प्रत्यारोपणपछि खाने औषधी महँगो भएकै कारण पनि निःशुल्क प्रत्यारोपण सुविधा हुँदाहुँदै पनि डायलासिसबाटै जीवन लम्ब्याइरहने अवस्था बनेको छ ।

हाल स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार ८ हजार बिरामीले डायलासिसको भरमा जीवन लम्बाइरहेका छन् ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विपन्न र बीमाको कार्यक्रमलाई एकै ठाँउमा राखेर जटिल रोग लागेका नागरिकलाई सहुलियत दिने काम भइरहेको बताए । मन्त्री पौडेल भन्छन्, “अस्पतालले कडा रोग लागेका बिरामीलाई दोहोरो सेवा लिन नपाइने बताउँदै आएका रहछन्। सबै अस्पताललाई पत्रचार गरिसकेका छौं । बीमा र विपन्न कार्यक्रम उहाँहरूले दोहोरो सेवा लिन पाउनुहुन्छ ।”

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article