–ललेन्द्र शाक्य
कीर्तिपुर/नाट्यश्वर फिल्म्सको प्रस्तुति सुरेश खड्गीको नेपालभाषाको चलचित्र “झीगु कर्म” कीर्तिपुर सिनेप्लेक्स हलमा प्रदर्शन हुने भएको छ ।
आउँदो असार २१ गते शनिबार कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा विहान ११ बजे र दिउँसो २ बजे गरी दुई शो प्रदर्शन गरिने जानकारी नाट्यश्वर फिल्म्सले दिएको छ ।
यस्तै, नेपालभाषाको कथानक एवं सामाजिक परिवेशका साथ एक्सनले भरिपूर्ण चलचित्र “झीगु कर्म” हेर्नका लागि पाँच सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
चलचित्र “झीगु कर्म”मा चर्चित कलाकारहरु प्रभातकुमार ख्येँ, शशीकला मानन्धर, सुरज व्यञ्जनकार, सुजना बज्राचार्य, अनु महर्जन, सुरज नापित, सुधा महर्जनका साथ बरिष्ठ निर्देशक, लेखक एवं कलाकार पवन जोशीको प्रमुख भूमिका रहेको छ ।
सुरेश खड्गीको कथा एवं परिकल्पनामा निर्मित चलचित्र “झीगु कर्म” को लेखक सनमकुमार श्रेष्ठ हुनुहुन्छ ।
चलचित्रका गीत एवं संगीत सानुबाबु महर्जनको रहेको छ भने बिट्स स्टुडियो र हिसि स्टुडियोमा सम्पूर्ण रिकर्डिङ कार्य भएको छ ।
राजेन्द्र श्रेष्ठको एक्सन तथा बालकुमार मगरको सिनेम्याटोग्राफी एवं सम्पादन रहेको “झीगु कर्म” चलचित्रको निर्मातामा राजु खड्गी, सुरेश खड्गी र रामकुमार महर्जन हुनुहुन्छ ।
सुरेश खड्गी एवं सुजना बज्राचार्यको निर्देशनमा निर्माण भएको नेपालभाषाको चलचित्र “झीगु कर्म”को आउँदो असार २१ गते शनिबार प्रदर्शनको क्रममा विहान ११ बजेको टिकट हाउसफूल भइसकेको र दिउँसो २ बजेको टिकट केही सिट मात्र बाँकी रहेको जानकारी नाट्यश्वर फिल्म्सले दिएको छ ।
कीर्तिपुर सिनेप्लेक्समा नेपालभाषाको चलचित्र “झीगु कर्म” दुई शो : असार २१ गते शनिबार विहान ११ बजे र दिउँसो २ बजे
