नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः एकता दिवस उत्सव मात्रै हैन अधिकारमुखि संघर्ष पनि हो भन्नु भयो । १५ औं नेवाः एकता दिवस तोखामा मनाउनका लागि विहिवार पुष १८ गते तोखामा भएको तयारी भेलामा सो कुरा बताउनु भएको हो । नेवाः भित्र विभेद नभएको घोषणा जनस्तरवाट भएकोले यो उत्सव हो भने जनस्तरवाट नेवाः स्वायत्त राज्य घोषणा गरेको कारणले राजनीतिक अधिकारमुखि यो संघर्ष पनि हो, त्यसैले यो उत्सव र संघर्षको संयुक्त रुप हो भन्दै उहाँले पुष २४ गते नेवाः एकता दिवसवाट संविधान संशोधनको सावलमा नेवाःहरुको आधिकारीक धारणा पनि आउने बताउनु भयो ।
पुष २४ गते बुधवार पोहेलाथ्व नवःमिको दिनमा तोखामा हुने १५ औं नेवाः एकता दिवसका लागि तयारीको क्रममा भएको उक्त भेलामा नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोलले यस बर्षको नेवाः एकता दिवस भब्य बनाउनका लागि तोखाका सबै सांस्कृतिक खलः पुचःहरुलाई सहभागी गराउनु पर्ने बताउनु भयो । त्यसैगरी नेवाः देय् दबूका केन्द्रीय सदस्य माइला डंगोलले नेवाः एकता दिवसलाई उत्सवको रुपमा मनाउन साथै सबै तोखाका नेवाःहरुलाई सहभागी गराउने योजना बनाउनु पर्ने बताउनु भयो ।
नेवाः देय् दबू तोखा नगर समितिको संयोजनमा तोखाका सांस्कृतिक बाजा खलःका प्रतिनिधिदेखि विभिन्न ब्यक्तित्वहरुसंग विहिवार १५ औं नेवाः एकता दिवस भब्य गर्ने बारेमा छलफल भएको र आवश्यक स्थानीय व्यवस्थापनको सवालमा पनि छलफल भएको थियो । नेवाः एकता दिवस हुने दिनमा सांस्कृतिक बाजागाजा सहित ¥याली पश्चात च्वय्लाछिमा मूल कार्यक्रम गर्ने भएको छ । नेवाः देय् दबूको संयोजनमा नेवाः खलः पुचःहरुको संयुक्त आयोजनामा प्रत्येक बर्ष नेवाः एकता दिवस पोहेलाथ्व नवःमिको दिनमा मनाउदै आएको हो । यस अघि १४ औं नेवाः एकता दिवस काभ्रेको पनौतीमा भएको थियो भने १३ औं नेवाः एकता दिवस बलम्बुमा भएको थियो ।
