20.8 C
Kirtipur
Tuesday, September 16, 2025

‘कीर्तिपुरमा युवा नेतृत्वको खाँचो छ’ : समाजसेवी राजकमल महर्जन

Must read

ललेन्द्र शाक्य कीर्तिपुर : ‘राजाको कमल…राजकमल । तर, म जनताको कमल…जनकमल भई कीर्तिपुर र कीर्तिपुरबासीको हकहित एवं विकासको लागि राजनीतिमा होमिएको छु ।’ यो भनाई हो, कीर्तिपुर नगरपालिका २ वडा देवढोकाका स्थायी बासिन्दा युवा समाजसेवी राजकमल महर्जनको । विगत करिब ३ दशक अगाडिदेखि राजनीतिक पार्टीलाई भन्दा पनि जनहित, जनचाहना, आफ्नो क्षेत्र एवं सिंगो नगरको विकासलाई प्राथमिकता दिई समाजसेवामा समर्पित हुँदै आइरहनु भएका युवा समाजसेवी राजकमल महर्जन हाल नेकपा एमालेको भ्रातृ संगठन युथ फोर्सको केन्द्रीय सदस्य हुनुहुन्छ । हुनतः राजकमल गएको २०७४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर २ वडाबाट वडाध्यक्ष उम्मेदवारको रुपमा चर्चा भएका व्यक्ति हुन् । तर कारणबश, उहाँले वडाध्यक्ष उम्मेदवार परित्याग गर्नुभयो र पार्टीबाट उम्मेदवार भएका व्यक्तिलाई दिलोज्यानका साथ सहभागी भई ती उम्मेदवारलाई विजयी गराई छाड्नुभो राजकमल महर्जनले । उहाँले २०७९ सालको स्थानीय निर्वाचनमा पनि सक्रियता जनाउनु भएको थियो । उहाँ स्थानीय निर्वाचनमा मात्र हैन कि प्रतिनिधिसभाको निर्वाचनमा पनि सक्रियताका एवं सहयोगी भावनाका साथ पाईला चाल्दै आइरहनु भएका व्यक्ति हुन् । युवा जोश, युवा शीप कला एवं युवा प्रतिभालाई सम्बन्धित प्रत्येक क्षेत्रमा सदुपयोग गर्न सके मात्र देशले विकास र समृद्धिको बाटो अंगाल्न सक्ने तथा जनचाहना अनुसार जनतामा सुख एवं आर्थिक उन्नति हुने विचारधाराका साथ निरन्तर रुपमा समाजसेवामा समर्पित राजकमल महर्जन कीर्तिपुर नगर र नगरवासीको लागि केही गर्ने हेतुका साथ अब आउने स्थानीय निर्वाचनमा आफू मेयर उम्मेदवार हुने सोँचमा हुनुहुन्छ । हालको समय एवं परिप्रेक्ष्यमा देशको नेतृत्व युवाशक्तिको हातबाटै संचालन हुनुपर्ने धारणा राख्नु हुने राजकमल कीर्तिपुर नगर र नगरभित्रका बच्चादेखि ज्येष्ठ नागरिकसम्मका जनताहरुको जीवनका हरेक पाईलाहरुमा यदि आफूले कीर्तिपुर नगरको नेतृत्व गर्नसकेको खण्डमा युगान्तकारी परिवर्तन गर्ने लक्ष्य रहेको विचार पनि सुनाउनु भयो । हालको आधुनिक वैज्ञानिक युगको समय सन्दर्भमा आधुनिक प्रविधिद्वारा नगरका नगरबासीहरुको काम कारवाहीमा सक्षम एवं सम्बन्धित युवा शक्ति र शीप प्रयोग गरी, सम्बन्धित क्षेत्रका ती सक्षम युवाहरुलाई नगरपालिकाको विभिन्न फाँट र विभागमा सेवा भावनाप्रेरित रोजगारीको वातावरण बनाई जनमुखी एवं जनसेवालाई प्राथमिकता दिई समावेशी रुपमा नगरपालिका संचालन हुनुपर्ने धारणा पनि राख्नु हुन्छ राजकमल महर्जन । यस विषयमा आफूसंग भिजन भएको र हाल गम्भीरताका साथ अध्ययन गरिरहेको विचार पनि पोख्नु भयो महर्जनले । उहाँ भन्नुहुन्छ, ‘समय अनुसार परिचालित हुनुपर्छ, आधुनिक प्रविधिलाई अंगाल्नु पर्छ नै । यदि नयाँ प्रविधिलाई अंगाल्न सकेन भने अवश्य पनि पछि परिन्छ नै । भिजनविना निर्वाचनमा उम्मेदवार हुनु र जित्नुको औचित्य अवश्य पनि रहँदैन ।’ साथै उहाँले नगरपालिकामा कर्मचारीहरुलाई जनसेवामुखी एवं सही कार्यमा सदुपयोग गर्नुपर्ने र ती कर्मचारीहरुलाई कुन तरिकाबाट जनतामा समर्पित तवरले कार्य सम्पादन गराउन लगाउनु पर्छ भन्ने विषयमा आफूसंग बिल्कुलै नयाँ नौलो भिजन भएको जानकारी पनि दिनुभयो । यस्तै, छोटो कुराकानीका क्रममा समाजसेवी महर्जनले नगरपालिकाले कीर्तिपुरका ज्येष्ठ नागरिक एवं विद्यार्थी भाईबहिनीहरुका लागि कालिमाटीदेखि कीर्तिपुरसम्म निःशुल्क बससेवा संचालन गर्नुपर्ने आफ्नो विचार रहेको पनि सुनाउनु भयो । उहाँले अघिल्लो स्थानीय सरकारलाई पनि यस बिषयमा जानकारी दिएको तर कार्यान्वयन हुन नसकेको पनि सुनाउनु भयो । यदि आफू मेयर भइयो भने यो कार्य पूरा गर्ने सोँच भएको जानकारी पनि दिनुभयो राजकमल महर्जनले । उहाँ भन्नु हुन्छ, ‘यो कार्यको लागि यदि नगरपालिकाले ४ वटा बस किनियो भने विभिन्न दातृ संघसंस्थाबाट अर्को थप ४ वटा बस ल्याउन पहल गर्नेछु । र, सफल पनि हुन्छ भन्ने विषयमा आफू आशावादी छु ।’ अब आउने स्थानीय तहको निर्वाचनमा पहिले जस्तै पट्टासाफ हुने त हैन भन्ने विषयमा पार्टी अब सतर्क भइसकेको जानकारी दिनुहुन्छ राजकमल महर्जन । उहाँ भन्नु हुन्छ, ‘गएको निर्वाचनमा कोही कसैबाट गल्ती भयो होला । अब त्यही गल्ती नदोहो¥याउनका लागि पार्टीभित्र गम्भीरताका साथ बहस, छलफल एवं कार्य सम्पादन तथा कार्यान्वयनका पाईलाहरु बुद्धिमतापूर्वक चलिरहेको छ । कीर्तिपुरको सन्दर्भमा, अब फेरि पनि कीर्तिपुरलाई लालकिल्लाको रुपमैं फर्काउने पहल पनि भइरहेको छ । यसमा सम्पूर्ण जनसमुदायहरुमा अपील पनि गर्दछु कि, निश्चिन्त हुनुहोस्, पहिलेको गल्ती दोहोरिने छैन, अब आउने समयमा कीर्तिपुर लालकिल्लाको रुपमै परिणत हुनेछ ।’ राजकमल महर्जन राजनीति शास्त्रका निख्खर विद्यार्थी पनि हुनुहुन्छ । कीर्तिपुर नगरको मेयरको टिकटको सवालमा राजकमलले पाउँछन् त टिकट भन्ने सन्दर्भमा उहाँ भन्नुहुन्छ, ‘कोशिश गरिरहेको छु । अवश्य पनि, टिकट पाउने सम्भावना छ जस्तो लाग्छ । हेरम् गन्तव्य कहाँसम्म पुगिन्छ ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article