बुलावायो । वेस्ट इन्डीजका दिग्गज क्रिकेटर शिवनारायण चन्द्रपालका छोरा तेगनारायण चन्द्रपालले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।
जिम्बाब्वेविरुद्ध जारी टेस्ट म्याचमा तेगनारायणले उत्कृष्ट शतक प्रहार गरेका छन् । अर्थात बुवापछि अब छोराले पनि आफ्नो टीमका लागि टेस्ट क्रिकेटमा शतक प्रहार गरेका छन् ।
जिम्बाब्वेविरुद्ध जारी टेस्ट खेलमा वेस्ट इन्डीजले उत्कृष्ट खेल प्रदर्शन गरेको छ । ८९ ओभरमा वेस्ट इन्डीजले कुनै पनि विकेट नगुमाइ २२१ रन बनाएको छ ।
तेगनारायणले २९१ बलमा १०१ रन बनाएका छन् । त्यसक्रममा उनले १० चौका तथा एक छक्का प्रहार गरेका छन् ।
उनीसंगै ब्याटिङ गरिरहेका क्रेग ब्रेथवेटले पनि शतक प्रहार गरेका छन् । उनले २४६ बलमा ११६ रन बनाइसकेका छन् । उनले आफ्नो इनिङमा ७ चौका प्रहार गरेका छन् ।
वर्षाका कारण खेलको दोस्रो दिन ३८ ओभरको खेलमात्र सम्भव भयो ।
वेस्ट इन्डीजका लागि यी दुबै ब्याट्सम्यानको इनिङ निकै महत्वपूर्ण रह्यो । पहिला क्रेथ ब्रेथवेटले शतक पुरा गरेका थिए ।
उनी पछिल्ला १० वर्षमा पहिलो त्यस्ता वेस्ट इन्डीजका ओपनर रहे, जसले टेस्ट क्रिकेटमा शतक प्रहार गरे । उनीसंगै तेगनारायण चन्द्रपालको शतक बन्यो । दुबैले वेस्ट इन्डीजका लागि पछिल्लो ११ वर्ष यताको सबैभन्दा ठूलो टेस्ट साझेदारी २२१ को कीर्तिमान समेत बनाएका छन् ।
शिवनारायण चन्द्रपालको कुरा गर्ने हो भने उनलाई टेस्ट क्रिकेटको लिजेण्ड मानिन्छ । वेस्ट इन्डीजका लागि १६४ टेस्ट खेलमा ११ हजार ८ सय ६७ रन बनाएका छन् । उनका नाममा ३० शतक दर्ता छ ।
रोचक कुरा के छ भने शिवनारायण चन्द्रपाललाई आफ्नो पहिलो टेस्ट शतकका लागि आठ वर्ष तथा ५२ इनिङको प्रतीक्षा गर्नु परेको थियो । जबकि उनका छोराले आफ्नो पहिलो टेस्ट शतकका लागि केवल पाँच इनिङ प्रतीक्षा गर्नु पर्यो ।