ललेन्द्र शाक्य
नजिकिदै आइरहेको मंसीर ४ गतेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा काठमाडौं १० नम्बर क्षेत्र कीर्तिपुरका नेकपा एमालेका असन्तुष्ट पक्षका कार्यकर्ताहरुले सूर्यमा मतदान नगर्ने जानकारी स्रोतबाट दिएको छ । काठमाडौं १० नम्बर क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार चोभारका हिमेश केसीले उम्मेदवारी दिएको छ भने प्रदेश सभा क बाट प्रदेश सभा सदस्य उम्मेदवारी शिवभक्ति बलामी र ख बाट प्रदेश सभा सदस्य उम्मेदवारी रामशरण आले मगरले दिएका छन् । एमाले पार्टीबाट असन्तुष्ट कीर्तिपुरका एक कार्यकर्ताले जानकारी दिए अनुसार सर्वप्रथम त एमालेबाट उम्मेदवार भएका हिमेश केसीले जातीय एवं भाषिक बिखण्डन ल्याउने कार्य गरेको भन्दै भन्नु हुन्छ, ‘हामीले हिमेश केसीयात आफ्नो सम्झी पहिले समर्थन पनि गरेका हौं । तर, केसीले हामीलाई आफ्नो सम्झिएन र पराईको दर्जामा राखियो । भाषिक र जातीयताको भाव देखाई हामीलाई पर सारियो । यो पनि एक हाम्रो असन्तुष्टिको कारण हो । त्यसैले कीर्तिपुरका हामी पार्टीबाट असन्तुष्ट भई यस निर्वाचनमा एमालेको सूर्य चिन्हमा मतदान नगर्ने निर्णयमा पुगेका हौं ।’ काठमाडौं १० नम्बर क्षेत्रभित्र कीर्तिपुर नगरपालिकासाथै दक्षिणकाली नगरपालिका र चन्द्रागिरी नगरपालिका गरी तीन नगरपालिका समाहित छन् । यस निर्वाचनमा कीर्तिपुर नगरपालिकाका करिब चार दशक अगाडिदेखि एमाले पार्टीप्रति समर्पित भई सक्रिय रुपमा पार्टीलाई योगदान दिदै आइरहेका कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र एमाले पार्टीका केन्द्रीय सदस्य समेत भइसकेका सुरेन्द्र मानन्धर दुईजनामध्ये एकजना प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने चर्चा परिचर्चा चलेको थियो । तर, नेकपा एमाले पार्टीले पार्टीप्रति कम योगदान भएका हिमेश केसीलाई उम्मेदवार घोषणा गरियो । यो घोषणाप्रति पनिं काठमाडौं १० नम्बर क्षेत्र कीर्तिपुरका एमाले कार्यकर्ताहरु असन्तुष्ट भएको हो भनी स्रोतले जनाएको छ । दशकौं दशक अगाडिदेखि नेकपा एमाले पार्टीप्रति बफादारी हुँदै आइरहेका कार्यकर्ताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं १० नम्बर क्षेत्रमा एमाले पार्टी तहसनहस गरी विस्थापित गर्ने पाईला चालेको आरोप पनि दिएको छ । उनीहरु भन्छन्, ‘पार्टी अध्यक्ष ओलीले गएको बैशाखमा स्थानीय चुनावदेखि नै असक्षम र पार्टीप्रति कुनै योगदान नभएका उम्मेदवार चयन गरी जनसमुदायसमक्ष काठमाडौं १० नम्बरमा एमाले पार्टीलाई अलोकप्रिय बनाउने पाइला चाल्दै आइरहेको छ । यस प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि उक्त पाइलालाई निरन्तरता दिएको छ ।’ काठमाडौं १० नम्बर क्षेत्रका जनसमुदाय रमेश महर्जन वा सुरेन्द्र मानन्धर दुईजनामध्ये एकजना एमाले पार्टी प्रतिनिधि सभाको उम्मेदवार बनाएको भए आफ्नो क्षेत्रमा एमालेको चुनावी वातावरणमा रौनकता आउने र जनसमुदायहरुले पनि सकारात्मक रुपमा एमाले पार्टीको चर्चा परिचर्चा गरिने र ती दुईजानामध्ये एकजना जो भए पनि उम्मेदवारको रुपमा स्वीकार गरिने हो, स्रोतले भनेको छ । तर एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले रमेश महर्जन र सुरेन्द्र मानन्धरलाई ब्याक गरी हिमेश केसीलाई अगाडि ल्याइयो । पार्टीबाट यस्तो कदम चालेकोले पनि एमाले पार्टीका कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् भने यही असन्तुष्टिका कारण असन्तुष्ट पक्षले यस निर्वाचनमा सूर्यमा मतदान नगर्ने घोषणा गरेको हो भनी स्रोत भन्छन् । कीर्तिपुरका एक असन्तुष्ट कार्यकर्ताले आफूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत फोन गरी हिमेश केसीलाई सहयोग गर्न अनुरोध गरेको र तर आफूले सिधै प्रतिकातात्मक रुपमा सहयोग गर्न नसकिने जवाफ फर्काएको समेत भनेको छ । यति मात्र हैन, काठमाडौं क्षेत्र नम्बर ९ का एमालेबाट उम्मेदवार भएका कृष्णगोपाल श्रेष्ठ र १० नम्बर क्षेत्रका कांग्रेसबाट उम्मेदवार भएका राजन केसीबीचको मिलेमतोको कुरा पनि बाहिरिएको छ । उक्त मिलेमतो अनुसार ९ नम्बर क्षेत्रमा कृष्णगोपाल श्रेष्ठ विजयी गराउने र १० नम्बर क्षेत्रमा राजन केसी विजयी गराउने तवरले रणनीति बनाएको छ भन्ने चर्चा पनि बाहिरिएको छ । राजन केसी र कृष्णगोपाल श्रेष्ठ ‘मीत’ भन्दा पनि अति नजिकबाट मिलेको र दुईजनाबीच आ–आफ्नो घरमा परिवारसहित आवजजावत भई आफन्त प्रियजनको रुपमा विकसित भइसकेको खुलासा पनि आएको स्रोत बताउँछन् । यो पनि एक तीन चार दशक अगाडिदेखि पार्टीलाई योगदान दिदै आइरहेका कार्यकर्ताहरुको असन्तुष्टि हुनसक्छ । अब उक्त एमाले पार्टीका असन्तुष्टि कार्यकर्ताहरुको भोट कसलाई र कुन पार्टीलाई जाला त ? भन्ने विषयमा चर्चा परिचर्चा भइरहेको अवस्था छ । स्रोतबाट जानकारी आए अनुसार, सम्पूर्ण क्षेत्रमा माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादी पार्टी कांग्रेससंग एक भई गठबन्धन भइरहेको अवस्था छ । अनि, १० नम्बर क्षेत्रमा गठबन्धनका उम्मेदवार स्वरुप कांग्रेसका राजन केसी उम्मेदवार बनेका छन् । राजनीतिक विश्लेषकहरुको आँकलन अनुसार १० नम्बर क्षेत्रका एमाले पार्टीबाट असन्तुष्ट भएका पक्षबाट गठबन्धन उम्मेदवार कांग्रेसका राजन केसीलाई नं मतदान गरिने खुलासा भएको छ भनी स्रोत बताउँछन् । यस्तै, अर्को आँकलन अनुसार, सच्चा कम्युनिष्ट विचारधारा भएकाहरुले कांग्रेसलाई नभई कम्युनिष्ट पार्टीलाई नै मतदान गर्नेछ भन्ने कुरा पनि खुल्न आएको छ । यो हिसाबले १० नम्बर क्षत्रमा एमालेबाट असन्तुष्ट कार्यकर्ताहरुले कम्युनिष्ट पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण महर्जन या नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार अञ्जना विशुंखेलाई मतदान गर्नेछ भन्ने अनुमान पनि लगाएका छन् । असन्तुष्ट पक्षको भोट कता ढल्किन्छ, यो त मंसीर ४ गते पछि निर्वाचन परिणामबाट नै खुलस्त हुनेछ । त्यो समयसम्म प्रतिक्षा गरौं, परिणाम हेर्न बाँकी नै छ ।





