काठमाडौं । आगामी नोभेम्बरमा विश्वकप आयोजना गर्दै गरेको कतारले अर्को वर्ष हुने एसियाकपको समेत आयोजनाको जिम्मेवारी पाएको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार औपचारिक रूपमा कतारलाई आयोजनाको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि यो प्रतियोगिता यसै वर्ष चीनमा हुने कार्यतालिका रहेको थियो। तर एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोरोना भाइरस संक्रमणको महामारीका कारण आयोजना हुन सकेन। त्यसपछि चीनले आफूले प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएको थियो।
मलेसियास्थित एएफसी मुख्यालयमा भएको छलफलपछि एएफसीले आफ्नो निर्णय सार्वजानिक गरेको हो। एएफसीले आफ्नो कार्यकारी बैठकले सन् २०२३ को एसिया कप कतारमा गर्ने निर्णय गरेको जानकारी गराएको हो।
कतारमा एक महिनापछिबाट विश्व फुटबलको सर्वाधिक ठूलो प्रतियोगिताका रुपमा रहेको विश्वकप फुटबल सुरु हुँदैछ।