20.8 C
Kirtipur
Tuesday, September 16, 2025

महामारीकै रूपमा डेङ्गु

Must read

भरतपुर । हरेक वर्ष जसो चितवनमा महामारीकै रूप लिने डेङ्गु यस वर्ष पनि महामारीकै रूपमा देखिएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार यो वर्ष साउनदेखि भदौ २२ गतेसम्ममा दुई हजार ६४ जनाको परीक्षण गरिएकोमा १७९ जनामा डेङ्गु देखिएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले डेङ्गु फैलने समय अझै बाँकी रहेकाले थप सचेत हुनुपर्ने बताउनुभयो । 

“छोटो समयमै यति धेरै डेङ्गु सङ्क्रमित भेटिएका छन् । अघिल्ला वर्षको तुलना गर्ने हो भने अब त वर्षा सकिएसँगै डेङ्गु फैलने समय हो”, उहाँले भन्नुभयो । चितवन नेपालमै डेङ्गुको पहिलो बिरामी भेटिएको जिल्ला पनि हो । 

“चितवनमा २०६१ मा पहिलो पटक डेङ्गुको पहिचान भएको तथ्य छ । नेपाल घुम्न आएका एक विदेशी नागरिकमा डेङ्गु पहिचान भएको तथ्याङ्क हामीसँग छ”, किट विज्ञ राम केसीले भन्नुभयो । डेङ्गुले २०६३ देखि महामारीको रूप लिन थालेको केसीले जनाउनुभयो । आव २०६७/६८ मा चितवनमा ७३९ जनामा डेङ्गु भेटिएको र त्यो बेला देशभर नौ सय जनामा डेङ्गु भएको बताइन्छ । 

“आव २०७३/७४ मा ६८७ जनामा डेङ्गु देखिएकोमा एक जनाको मृत्यु, २०७४/७५ मा ५९ जनामा देखिएकोमा एक जनाको मृत्यु, २०७५/७६ मा ३१ जना डेङ्गु भेटिएको थियो,” उहाँले भन्नुभयो । गत वर्ष केही मत्थर देखिएको डेङ्गु यो वर्ष पुनः फैलावट रूपमा देखिएको भन्दै मानवीय क्षति भने नभएको केसीले बताउनुभयो । भरतपुरमा भेटिएका एक डेङ्गु बिरामीले भन्नुभयो, “ज्यान तातेर आउँथ्यो ।  दिउँसो केही पनि नभए जस्तो हुने राती ज्वरो एकदमै आउन थाल्यो । लगलग कमाएर ज्वरो आउन थालेपछि म अस्पताल भर्ना भएको हुँ । निद्रा कत्ति पनि लाग्दैनथ्यो । शरीर दुख्थ्यो ।”

जमेको पानी सफा नगर्दा फैलावट डेङ्गु लामखुट्टेबाट सर्ने रोग हो । “लगातार बर्सात जारी छ । जमिनमा पानी जम्ने समस्या त छ, योसँगै घर वरपर रहेका ससाना भाँडा तथा टायरमा पानी जम्ने समस्या यथावत् नै छ”, वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाइँले भन्नुभयो, “भाँडा तथा टायरमा जमेका पानी सफा नगर्ने हो भने डेङ्गुको माहामारी जारी रहने छ ।” “नागरिकले पनि आफ्नो दायित्व सम्झेर आफ्नो घर आफैँ सरसफाइ राख्नुपर्छ”, उहाँको भनाइ छ । 

कोरोनाको कहर भइरहेका बेला चितवनमा डेङ्गुको पनि जोखिम बढेको छ । भरतपुरका पुराना फिजिसियन डाक्टर शशीजङ्ग पाण्डे भन्नुहुन्छ, “समयमा नै सतर्कता अपनाइएन र जमेको पानी नियन्त्रण गर्नेतर्फ ध्यान दिइएन भने कोरोना भनेर बिरामी डराएर घरमै बस्ने अनि डेङ्गुले प्लेटलेस घटाएर मर्ने दिन नआउला भन्न सकिँदैन ।”   गाेरखापत्र

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article