काठमाडौं, २ मंसिर ।
गत भदौ २३ गते भएको जेन–जी आन्दोलनको सन्दर्भमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहसँग बयान लिने बताएका छन् । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आवश्यक परेको खण्डमा बालेनलाई पनि बोलाइने बताएका हुन् ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहलाई बोलाएर बयान लिने भन्ने विषयमा आवश्यक पर्यो भने गर्छौं भन्दै आयोगका अध्यक्ष कार्कीले आयोगले दिएको प्रतिवेदन सरकारले अक्षरस पालना गर्नुपर्ने बताएका छन् ।
आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन नगरेको र सार्वजनिक नभएको खण्डमा एक महिनापछि आफैंले सार्वजनिक गरिदिने पनि आयोग अध्यक्ष कार्कीले बताएका छन् । त्यसो हुँदा जनताले पनि कार्यान्वयनको लागि दवाब दिने कार्कीले बताएका छन् ।
साथै, आयोगका अध्यक्ष कार्कीले आयोगले बयानका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख कुबेरचन्द्र खापुङ, हालका आईजीपी दानबहादुर कार्कीलगायतलाई बोलाइने बताएका छन् ।
भदौ २३ गतेको घटनाको तथ्य पत्ता लगाउनका लागि उनीहरुसँग बयान लिनैपर्ने कार्कीको भनाइ रहेको छ ।
काठमाडौं नगरपालिका मेयर बालेनले जेन–जी आन्दोलनलाई उत्तेजक बनाउनका लागि भूमिका खेलेको, आन्दोलनकारीहरुलाई पानी बाँड्न महानगरको टोली खटाएको, सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको, सामाजिक सञ्जालमा सिंहदरबार जलाइदिने चेतावनी दिएको लगायतका आरोप टिकाटिप्पणी भइराखेका छन् ।





