काठमाडौं ।
तोकिएकै मितिमा चुनाव सम्पन्न गराउनको लागि आयोग गम्भीर भएर लागेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । चुनावको वातावरण बनाउनको लागि प्रमुख आयुक्त भण्डारीले यो बीचमा लगातार प्रधानमन्त्री सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र पौडेल र सुरक्षा निकायका प्रमुखहरुसँग पनि छलफलमा बसेका छन् ।
चुनावको प्रयोजनको लागि दल दर्ताको समय मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म तोकिएको छ । निर्वाचनमा भाग लिनको लागि भोलिबाट दल दर्ताको समय तोकिएको छ । तर, एमालेले संसद् पूनःस्थापनाको वकालत गरिरहेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
अहिलेसम्म कांग्रेसले निर्वाचनको विषयमा पार्टीको आधिकारिक फोरमबाट ठोस निर्णय लिएको छैन । तर, कांग्रेसमा शीर्ष नेताहरुले घोषित मितिमै निर्वाचन हुनुपर्ने र देशलाई संवैधानिक ट्रयाकमा फर्काउनुपर्ने मत राखेका छन् । प्रमुख आयुक्त भण्डारीले प्रमुख दलका शीर्ष नेताहरुसँग राष्ट्रपतिले नै पहलकदमी लिएर निर्वाचन प्रयोजनको लागि छलफल गर्नुपर्ने सुझाएका छन् ।





