काठमाडौं ।
पूर्व राजा ज्ञानेन्द्र शाहको चर्चा भएको छ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा । अहिले देशमा जनमत संग्रह हुने हो भने पूर्व राजा ज्ञानेन्द्रले अत्याधिक बहुमत पाउने कांग्रेसका नेताहरुको आँकलन रहेको छ । कांग्रेस केन्द्रीय समितिमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन र पार्टीको महाधिवेशनलाई लिएर नेताहरुले किचलो झिकेपछि चन्द्रकान्त भण्डारीले पूर्व राजा ज्ञानेन्द्रले जनमत संग्रह गर्दा अहिले अत्याधिक बहुमत पाउने अवस्था रहे पनि उनी समयलाई चिनेर चुप बसेको बताए । असफल नेताहरुकै कारण देश जलेको भन्दै नेता भण्डारीले केन्द्रीय समितिको ध्यानाकर्षण गराए । उनले नेताहरुकै असफलताको कारण देश जलेको र जेन–जी आन्दोलनको क्रममा बच्चाहरु मारिएको बताए । उनले आफ्ना नेताहरुलाई नकराउन र समयलाई चिन्न आग्रह गरे । नेता भण्डारीले भने, ‘तपाईँहरु कति कराउनु हुन्छ ? कति नचाहिने कुरा गर्नुहुन्छ ? अहिले यो देशमा जनमत संग्रह गर्यो भने पूर्व राजाको अत्याधिक बहुमत आउँछ । तर, उहाँ किन बोलिराख्नु भएको छैन भने उहाँले समय चिन्नु भएको छ । तपाईँहरुका कारणले यत्रो देश जल्यो, यत्रो बच्चाहरु मारिए, अझ तपाईँहरु कति कराइरहनु हुन्छ ? तपाईँहरु त एकदम असफल मान्छे हो । एकछिन त नकराइ बस्नुस्, समयलाई चिन्नुस् ।’





