ललितपुर
ललितपुरको बुंगमतीमा हरेक वर्षको दशैं पर्वको नवमीदेखि एकादशीसम्म मनकामना देवीको आगमन हुन्छ । मनकामना देवीको आगमनसंगै बुंगमतीमा भक्तिपूर्ण र सांस्कृतिक उत्साह धूमधामका साथ हुन्छ । जसलाई आजु–अजि (मनकामना जात्रा) पनि भनिन्छ । बुंगमतीमा मनकामना देवीको जात्राको समयमा गोरखास्थित मुख्य मनकामना मन्दिर बन्द हुन्छ । किनभने मनकामना देवी स्वयं ललितपुरको बुंगमतीमा आगमन हुने विश्वास छ । त्यसैले यी तीन दिन मनकामना देवीको दर्शन गर्ने भक्तजनहरू ललितपुरको बुंगमतीमै आउने गर्दछन् । मनकामना देवीको जात्रा पर्वको प्रारम्भ बुंगमतीको मनकामना मन्दिरमा तान्त्रिक पूजाबाट गर्ने प्रचलन छ । पूजा सम्पन्न भएपछि मनकामना देवीले रातो मच्छिन्द्रनाथको तीनपटक परिक्रमा गर्ने धार्मिक विश्वास छ । जसले उपत्यकाका संरक्षक देवतासँगको समन्वय र सांस्कृतिक सम्बन्धलाई झल्काउने बताइन्छ । त्यसपछि मनकामना देवीलाई ह्याङ्ग्रीव भैरव मन्दिरमा प्रतिष्ठित गरिन्छ । दिनभर दर्शन र पूजाआजा गरिन्छ भने राति गाउँभरि उत्साहपूर्ण यात्रा निकालिन्छ । अन्तिम दिन एकादशीमा मनकामना देवीलाई पुनः आफ्नै मन्दिरमा फर्काइन्छ । किंवदन्ती अनुसार मनकामना देवी आफ्ना श्रीमान् राजा राम शाहसँग ज्यापु–ज्यापुनीको भेषमा मच्छिन्द्रनाथ जात्रा हेर्न बुंगमती आएको विश्वास छ र त्यहाँका तान्त्रिक साधकहरूले मनकामना देवीलाई चिने र यहीँ बस्न आग्रह गरे । तर, मनकामना देवीले गोरखास्थित मूल मन्दिर छोड्न नसक्ने भए पनि वर्षमा तीन दिन बुंगमतीमा बस्ने वाचा गरेको हुनाले दशैंको तीन दिन नवमी, दशमी र एकादशीका दिन मनकामना देवी बुंगमतीमा रहने जनविश्वासका रही आएको छ । बुंंगमतीको यो मनकामना देवी जात्रा पर्व केवल पूजाआजा मात्र होइन, गोरखा र बुंग्मतीबिचको सांस्कृतिक सम्बन्धको प्रतीकका रुपमा लिने गरिन्छ । यसले साझा परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने काम गर्दै आइरहेको विश्लेषकहरुको ठम्याईं रहेको छ ।