राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा गिरफ्तारीमा परेका छन् । चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले गिरफ्तार गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।
कँडेललाई रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार चितवनबाट बुधबार गिरफ्तार गरी रुपन्देही ल्याइएको हो । कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिएका छन् ।
गत साउन ३० गते रुपन्देही प्रहरीले बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ मा बस्न जाने क्रममा ठूलो मात्रामा त्रिभुवन विश्वविद्यालयसहित समेतका गरी विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको थियो ।
गिरफ्तारीमा परेका अभिषेक यादवको बयानका आधारमा रास्वपा नेता हरिप्रसाद कँडेललाई गिरफ्तार गरिएको एसपी क्षेत्रीले बताएका छन् ।
रास्वपा नेता नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा गिरफ्तार
