काठमाडौं – विभिन्न अराजक गतिविधिबाट चर्चामा आइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि अब राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका दुर्गा प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । प्रसाईंले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू राजनीतकि दल नै खोल्ने निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् । प्रसाईं भन्छन्, “म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं।” दुर्गा प्रसाईंले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् । प्रसाईं भन्छन्, “म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु।”
दुर्गा प्रसाईंले घोषणा गरे आफूले पनि राजनीतिक दल खोल्ने
