जनकपुरधाम – भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आएको थियो । उक्त मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली गएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको डीएसपी बस्नेतले जानकारी दिए । प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको डीएसपी बस्नेतले बताए ।
गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भएको डीएसपी बस्नेतले बताए ।
प्रहरीले खानतलासी गरी कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ । त्यहाँ अरु मदिरा पनि थियो । मदिरा नियन्त्रणमा लिन खोज्दा तस्करहरुले ढुंगामुढा लगायतले आक्रमण गरेपछि नियन्त्रणमा लिन समस्या भएको प्रहरीको भनाइ छ । ढुंगामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।