कीर्तिपुर– कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोललाई सोमबार कीर्तिपुर नगर भित्रका नीजि विद्यालयमा नेपालभाषा विषय अनिवार्य अध्यापन गराउनु पर्ने विषयमा स्थानीय सरकार कीर्तिपुर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
नेपालभाषा अभियानकर्ताहरु नेवाः बस्ती नेवाः स्कूल अभियानका संयोजक दीपक तुलाधर एवं नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनद्वारा संयुक्त रुपमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको हो ।
कीर्तिपुर नगरका मेयर डंगोललाई नेवाः विद्यार्थी युनियन संघका अध्यक्ष रिदेन महर्जनले कीर्तिपुर नगर भित्रका नीजि विद्यालयहरुमा सफलताका साथ नेपालभाषा विषय अनिवार्य रुपमा अध्यापन गराउने व्यवस्था किन नभएको भन्ने विषयलाई उत्थान गर्दै उक्त सन्दर्भमा ध्यानाकर्षण गराउनु भएको थियो ।
कीर्तिपुर नगरपालिकाका मेयर डंगोलले हाल कीर्तिपुर नगर भित्रका स्थानीय सरकारी स्कूलहरुमा कक्षा ६ सम्म नेपालभाषा अध्यापन गराउने कार्य संचालन भइरहेको जानकारी दिनुभएको थियो ।
यही क्रममा नेवाः बस्ती नेवाः स्कूल अभियानका संयोजक दीपक तुलाधरले कीर्तिपुर नगरापालिकाका मेयर कृष्णमान डंगोललाई ध्यानाकर्षण गराउँदै कीर्तिपुर नगरापालिकामा नेपालभाषा विषय व्यवस्थित रुपमा अध्ययन अध्यापन सुनिश्चित गर्नका लागि अनुगमन समिति गठन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनु भएको थियो ।