19.3 C
Kirtipur
Tuesday, September 16, 2025

बासस्थानमै चिडियाखाना निर्माण हुँदै

Must read

वीरगञ्ज (पर्सा), २९ चैत : यहाँ सदर चिडियाखाना निर्माणको काम सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर ३२ स्थित रामराम वनमा चिडियाखाना निर्माणको काम अघि बढाएको हो ।

पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षासहित चिडियाखाना निर्माण थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । “चिडियाखाना निर्माण हुने ५० हेक्टर क्षेत्रफलमा अहिले बार लगाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “यसका साथै परामर्शदाता नियुक्त गरेर चिडियाखानाको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम अघि बढेको छ”, ‘डिपीआर’ तयार भएलगत्तै चिडियाखानाको भौतिक संरचना निर्माण थालिने उहाँले बताउनुभयो ।

चिडियाखाना निर्माणका लागि करिब रु तीन अर्बभन्दा बढी बजेट आवश्यक पर्ने र डिपीआर तयार भएपछि स्रोतको खोजी गरी निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । चिडियाखाना पर्सा राष्ट्रिय निकुञ्जले निर्माण गर्ने र वीरगञ्ज महानगरपालिकाले त्यसलाई सञ्चालन गर्नेगरी सम्झौता भएको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताउनुभयो ।

चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवन क्षेत्रमध्ये वीरगञ्ज महानगरपालिका वडा नं ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहले आफ्नो साझेदारी वन क्षेत्रमा चिडियाखाना स्थापनाका लागि सहमति दिएको छ ।

सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको घाँस बुट्यान क्षेत्रले ३९ दशमलव ४ हेक्टर, सघन क्षेत्रले ७ दशमलव ५ र अतिक्रमण क्षेत्रले ३ दशमलव १ हेक्टर ओगटेको छ । उष्ण साल वन क्षेत्र रहेको सो वनमा मुख्य प्रजाति साल, कर्मा छभने कहिलेकहीँ घुमन्ते बाघ देखिने त्यस क्षेत्रमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगा, मैना, गरुड र सारस पनि पाइन्छन् । उक्त क्षेत्रमा घस्रिने कृमिवर्गका गोमन, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने भएकाले यहाँ चिडियाखाना बनाउन उपयुक्त हुने संरक्षण अधिकृत खतिवडाको कथन छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article