25.3 C
Kirtipur
Wednesday, July 16, 2025

मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा

Must read

सिन्धुपाल्चोक, १९ पुस : मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पु¥याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । यसैबीच बुधबार हेलम्बु–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा भइरहेको कामका बारेमा प्रतिनिधिमण्डलले स्थलगत अवलोकन गरेको छ ।

सिनियर डिभिजनल इन्जिनियर कुँवरले भन्नुभयो,“अबका बाँकी काम केही कठिन रहेको छ । जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुन्छ ।” उहाँले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताउनुभयो । सो अवसरमा सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिएर बाह्रै महिना काठमाडौँवासीलाई पानी पु¥याउनुपर्ने बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी लाने गरी मरमतको काम भैरहेको बताउनुभयो । अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो । अहिले ४५ कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताउनुभयो ।

गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ । विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौँ अस्थायीरुपमा ल्याउने गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article