25 C
Kirtipur
Thursday, July 3, 2025

कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत

Must read

सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्कनुभएको छ ।

 लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गर्नुभएको हो ।

 आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै यसले देशको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सगरमाथामा कायम भएको विश्वकीर्तिमानले नेपालको पर्वतारोहण र साहसी पर्वतारोहीको हौसला प्रदान गर्नुका साथै विश्वभर सकारात्मक सन्देश गएको उहाँले बताउनुभयो ।

 शेर्पाले यही जेठ ९ गते बिहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाउनुभएको हो । योसँगै उहाँले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोड्नुभएको छ । यो वर्षको वसन्त ऋतुमा उहाँको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा जेठ ३ गते उहाँले २७औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

 कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामीरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ ।

 सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको छ ।

 वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४५ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।
- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article