21 C
Kirtipur
Wednesday, September 17, 2025

मनकामनामा परेवा उडाउन निषेध

Must read

गोरखा ।  नेपालकाे प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ । मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो ।

देशका विभिन्न ठाउँबाट भक्तजनले ल्याएका परेवा वातावरण अनुकूलन नहुँदा र अत्यधिक चिसोका कारण मर्न थालेपछि परेवा उडाउन कडाइ गरिएको हो । दैनिक सयौंको संख्यामा परेवा मर्नेर् क्रम बढेको समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘परेवा मर्दा फैलिन सक्ने विभिन्न रोग, दुर्गन्धलगायत अन्य क्षतिलाई मध्यनजर गर्दै परेवा ल्याउन पूर्णरूपमा निषेध गरेका हौं,’ उनले भने ।

भाकलका लागि भक्तजनले ल्याएका परेवाको रोग मनकामना क्षेत्रमा भएका परेवामा पनि सर्न थालेपछि थप कडाइ गरिएको उनले बताए । ‘दुई वर्षअघि रोक लगाएका थियौं, तर परेवा उडाउन रोकिएन,’ उनले भने, ‘परेवा धेरै सानो ल्याउने, मन्दिरभित्र रोक छ भनेपछि बाटोमै छाडिदिने पनि गरिएको छ ।’ अव्यवस्थित रूपमा छाड्दा व्यवस्थापनमा समस्या आएको स्थानीय बताउँछन् । मनकामनामा आउने भक्तजनको भीडभाडले साना परेवा कुल्चिएर मर्ने समस्या पनि थपिएको उनले बताए । ‘दैनिक सयौं परेवा मर्न थाले, त्यसले व्यवस्थापनमा चुनौती थपियो,’ उनले भने, ‘फेरि बाहिरका परेवाले यहाँ भएकालाई पनि रोग सारिदिने भए, यहाँको हावापानीमा पनि घुलमिल हुन नसक्दा मर्ने समस्या थपियो ।’

जानकारी नभएर तथा लुकिचोरी ल्याउनेलाई पनि सहजताका लागि सार्वजनिक सूचना जारी गरी आह्वान गरिएको गुरुङले जनाए । ‘ल्याइसकेपछि फिर्ता लैजानुस् भन्न सकिएन,’ उनले भने । परेवा उडाउन रोक लगाएपछिका दुई वर्ष पनि दैनिक कम्तीमा १०/१२ जोर परेवा मनकामनामा ल्याउने गरेको गुरुङले बताए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article