19.3 C
Kirtipur
Tuesday, September 16, 2025

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

Must read

काठमाडौं । दशैं सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौं उपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खुलेपछि उपत्यकाका डाडाँ र उत्तरी क्षेत्रमा देखिने हिमश्रृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ ।

मौसमखुलेसँगै उपत्यका आसपास र प्रमुख गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मौसममा आन्तरिक पर्यटन एकदमै राम्रो छ, चाडपर्वसँगै बीदा मनाउने उल्लेख्य सङ्ख्यामा गन्तव्यमा निस्किएका छन् । अहिले मौसमले पनि साथ दिएकाले पर्यटनमा सकारात्मक उत्साह थपिएको छ ।”

पछिल्ला दिनमा काठमाडौंलगायत देशभर मौसम सफा रही आकाश खुलेको छ । पारिलो घाम लागेकाले उपत्यका आसपासका गन्तव्यमा पनि पर्यटकको भीडभाड बढेको छ । प्रि–बुकिङ पनि राम्रो रहेको छ । होटल क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बाक्लिएका छन् ।

तीन दिनयता उपत्यकाको मौसम खुलेकाले धुलिखेल, नगरकोट, चन्द्रागिरी हिल्स, जरसिंहपौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यमा पर्यटकीय चहलपहल बढेको व्यवसायीले बताएका छन् ।

उपत्यकाका पवित्र तीर्थस्थल, धार्मिक तथा पुरातात्विक क्षेत्रमा घुम्नेको पनि भीडभाड देखिन्छ । पशुपति क्षेत्र, स्वयम्भु, चाँगुनारायण, दक्षिणकालीलगायत धार्मिक स्थालमा तिर्थालु भक्तजनको घुइँचो लागेको छ । त्यस्तै प्रमुख पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन् ।

त्यसोत, यो सिजन पदयात्रा र पर्वतारोहणका लागि पनि उपयुक्त मौसम हो । यतिखेर उल्लेख्य सङ्ख्यामा पर्यटक गन्तव्यतिर निस्केका छन् । मौसमले साथ दिएकाले पर्वतारोहण र पदयात्रा सहज भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइटेलले मौसमले साथ दिएकाले आरोहण सामान्यरुपमा चलिरहेको जानकारी दिनुभयो । मनास्लु आरोहण लगभग सकिएको छ । अन्य हिमाल तथा चुली आरोहणमा अझै आरोहीले धमाधम अनुमति लिइरहेका छन् ।

विभागको विवरणमा हाल नेपालसहित ६९ देशका एक सय १० आरोही समूहका नौ सय ३१ आरोहीले आरोहण अनुमति लिएका छन् । यिमध्ये सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् ।

सफा मौसम भएकाले नीलो आकाश र हरिया डाडाँकाडाँले जोकोहीलाई आकषित गर्छ । त्यसमा पनि चाँदीका घेरा झै टल्किने हिमश्रृङ्खलाको मनमोहक दृश्यले पर्यटकीय मौसममा थप रौनकता थपिएको छ ।

अहिले उपत्यकाका जुनसुकै स्थानबाट सहजै उत्तरी भेगमा विभिन्न हिमालका मनोरम दृश्यावलोकन गर्न पाइन्छ । तिहारको मौसम पनि शुरु हुन लागेकाले हरिया पहाड उपत्यकाका विभिन्न स्थानमा फुलेका फुलको मनमोहक दृश्य पनि कम आकर्षक छैन ।

मौसमले साथ दिएकाले अहिले पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले बताउनुभयो । “पर्यटकीय चहलपहल राम्रै बढेको छ, बीचमा मौसमले केही समस्या आएपनि पछिल्ला दिनमा मौसम सफा रहेसँगै पर्यटकलाई आवागमन र दृश्वावलोकनलाई सहज तुल्याएको छ । यो मौसमले पर्यटन क्षेत्रमा पनि सकारात्मक बहार ल्याउछ”, मकालु एडभेन्चर प्रालिका प्रवन्ध निर्देशकसमेत रहनुभएका लम्सालले भन्नुभयो ।

मौसम खुलेसँगै हवाई उडान विशेषगरी पर्वतीय उडान ९माउन्टेन फ्लाइट०मा पनि आकर्षण बढेको छ । पर्वतीय उडानका लागि यो उपयुक्त मौसम पनि हो । मौसम खुलेर हिमालमा बादलुको घुम्टो उघ्रिएपछि मनोरम दृश्यले पर्यटकलाई लालयित तुल्याउछ । अक्टोबर र नोभेम्बर पर्वतीय उडानका लागि राम्रो मानिन्छ । “ मौसम राम्रोसँग खुलेकाले दुईदिन यता पर्वतीय उडान ह्वात्तै बढेको छ”, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नभुयो, “ अव यो क्रम बढ्ने विश्वासमा छौ, तिहारसम्मका लागि राम्रो बुकिङ आइरहेको छ”, उहाँले भन्नुभयो ।

मौसमले साथ दिएकाले पर्वतीय उडान उत्साहवद्र्धकरुपमा चलिरहेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । “मौसम खुलेसँगै पर्वतीय उडान राम्रो भएको छ । यो सिजनमा धेरै विदेशी घुम्न आउने र हिमश्रृङ्खला राम्रोसँग देखिने भएकाले पर्वतीय उडानमा आकर्षण बढ्छ ।”

विस्तारै नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article