गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीवारदेखि गोरखामा बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गाेटी चालेर बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुभयाे ।
गोरखा क्याम्पसको सभा हलमा हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गैरआवासीय नेपाल सङ्घ गरी ११ टिमका खेलाडी सहभागी छन् । एउटा टिमबाट तीन पुरुष र तीन महिला गरी ६६ जनाले प्रतियोगितामा भाग लिएका प्रतियोगिताका मुख्य निर्णायक यासिर खम्बुले बताउनुभयो ।
प्रतियोगिताअन्तर्गत स्विस लिग सिस्टमबाट नाै राउन्ड (चरण) को खेल हुने उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा नाै राउन्डकाे क्लासिकल खेल हुनेछ भने त्यसपछि र्यापिड राउन्ड सुरु हुनेछ । अन्त्यमा ब्लिज खेलसँगै विजेताको टुङ्गो लाग्ने बुद्धिचालका अर्का अन्तर्राष्ट्रिय निर्णायक महेश्वर डंगोलले बताउनुभयो । ‘क्लासिकल राउन्डका लागि ९० मिनेट र अतिरिक्त ३० सेकेन्डको समय निर्धारण गरिएको छ, र्यापिड १५ मिनेट र अतिरिक्त १० सेकेन्डको हुन्छ भने ब्लिज राउन्डका लागि ३ मिनेट र अतिरिक्त २ सेकेन्डको समय छुट्याइएको छ’, डंगोलले भन्नुभयाे ।
क्लासिकल राउन्डका लागि पाँच दिन, र्यापिडका लागि दुई दिन र ब्लिज राउन्डका लागि एक दिनको समय छुट्याइएको छ । ६ विधाको १८ पदकको छिनोफानो कात्तिक २ गते हुने उहाँले जानकारी दिनुभयो । क्लासिकल, र्यापिड र ब्लिज अन्तर्गत महिला र पुरुष दुवै खेलाडीको सहभागिता रहने गरी तीन विधाका खेल हुनेछन् भने पुरुषतर्फ थप तीन विधाका खेल हुने प्रतियोगिताका मुख्य निर्णायक यासिर खम्बुले बताउनुभयो । तीन विधामा ६ स्वर्ण, ६ रजत र ६ कास्य पदक विजेता छनाेट हुने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा ११ टिमका ६६ खेलाडीसहित ११ जना निर्णायक र टिम व्यवस्थापकलगायतको सहभागिता रहेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका धेरैजसो खेल पोखरामा हुनेछ । गण्डकी प्रदेशका अन्य जिल्लामा पनि केही विधाका प्रतियोगिता सञ्चालन गर्ने राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार बुद्धिचाल प्रतियोगिता गोरखामा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले बताउनुभयो ।