19.3 C
Kirtipur
Tuesday, September 16, 2025

थामिएन डेङ्गु सङ्क्रमण

Must read

हेटौँडा । विगतका वर्षहरूमा दशैँमा प्रभाव कम देखिएको डेङ्गु रोगको सङ्क्रमण यो पटक दशैँमा रोकिएन। गत साउनदेखि देखिन थालेको डेङ्गु सङ्क्रमण दशैँको समयमा मकवानपुरलगायतका जिल्लामा यो वर्ष सङ्क्रमण दर झन्डै उच्च रह्यो।

डेङ्गु सङ्क्रमणबाट यो वर्ष बागमती प्रदेशको काठमाडौँ, ललितपुरपछि मकवानपुर प्रभावित बनेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयको सोमबार साँझसम्मको तथ्याङ्कअनुसार डेङ्गु सङ्क्रमण भएका बिरामी २६ हजार ४९४ जना पुगेका छन्। १० दिनअघि प्रदेशका १३ जिल्लामा गरी २३ हजार २७० जनालाई डेङ्गु सङ्क्रमण भएको थियो। 

फूलपातीको अघिल्लो दिन अर्थात् असोज १५ गते प्रदेशभरमा डेङ्गु सङ्क्रमणबाट १९ जनाको मृत्यु भएकोमा सोमबारसम्ममा यो सङ्ख्या वृद्धि भएर डेङ्गु रोगबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ। काठमाडौँमा सात जना, रामेछाप र सिन्धुलीमा तीन/तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई/दुई तथा भक्तपुर र धादिङमा एक/एक जनाको यो अवधिमा डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले वर्षा हुने क्रम लम्बिएका कारण डेङ्गु सङ्क्रमणको समय बढेको बताउनुभयो। डेङ्गु सङ्क्रमणको प्रभाव प्रदेशका सबै जिल्लामा रहेको यस प्रदेशमा सबैभन्दा बढी बिरामी काठमाडौँमा ११ हजार १६३ र सबैभन्दा कम रसुवा जिल्लामा सात जना छन्।

ललितपुरमा आठ हजार १५ जना, मकवानपुरमा तीन हजार ३८२ जना, भक्तपुरमा एक हजार चार सय, चितवनमा एक हजार १५५, धादिङमा ६३०, नुवाकोटमा १३१, सिन्धुलीमा ११३, रामेछापमा ११९, दोलखामा ६८, काभ्रेमा २१४ र सिन्धुपाल्चोकमा ९९ जनामा डेङ्गु रोग सङ्क्रमण भएको छ। मकवानपुरमा मात्र १० दिनअघिको अनुपातमा सोमबार चार सयभन्दा बढी डेङ्गुका बिरामी थपिएका थिए।

मन्त्रालयका प्रवक्ता तिवारीले यो वर्षको मौसमले डेङ्गु सङ्क्रमणलाई साथ दिएको पूर्वसावधानी र तयारीको अभावमा पनि यो डेङ्गु सङ्क्रमणको जोखिम बढेको बताउनुभयो। 

उहाँले चिसो बढ्दै गएको र वर्षा हुने क्रम रोकिएकाले डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै गएको जानकारी दिँदै डेङ्गु सङ्क्रमणको जोखिम कायमै रहेको बताउनुभयो। असोज १ गते बागमती प्रदेशमा डेङ्गु सङ्क्रमण भएका बिरामी १० हजार ६८४ जना थिए। त्यतिबेला ललितपुरमा सबैभन्दा बढी चार हजार ६२४, काठमाडौँमा तीन हजार १५६ र मकवानपुरमा एक हजार ४९३ जना डेङ्गुका बिरामी थिए।

डेङ्गु सङ्क्रमण भएका बिरामीको चाप बढ्दै गएपछि उपचारका लागि हेटौँडा अस्पतालमा शय्या अभावका कारण अन्यत्र अस्पताल लैजानुपर्ने अवस्था थियो। अस्पतालमा मङ्गलबारसमेत १५ जना डेङ्गुका बिरामी उपचाररत रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।   गाेरखापत्र

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article