21.6 C
Kirtipur
Tuesday, September 16, 2025

चित्र कोरेर वार्षिक चार लाख रुपियाँ कमाइ

Must read

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको गणेश टोलमा रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घको भवनको भुइँतलामा पछिल्लो १५ दिनदेखि भित्तामा घोत्लिएर दिनभरि एक युवाको समय बित्ने गर्छ । मानिसहरू बाहिरी दुनियाँसँग रमाइरहेकाबेला ग्राउण्ड फ्लोरको भित्तामा पेन्सिलले आकृति कोर्ने र रङ भरेर आकर्षक चित्र बनाउने कार्यमा लागिरहेका युवा हुनुहुन्छ अशोक किसान । 

भवनको भित्तामा मान्छे टिपेर लगेर टाँसेको होकि जस्तो गरी आकृति उहाँले बनाउँदै आउनुभएको छ । बेनी नगरपालिका –४, तातोपानी निवासी बुबा पूर्णबहादुर किसान र आमा देवी किसानका छोरा अशोकको एक दिदी र एक बहिनी हुनुहुन्छ । साबिकको सिङ्गा गाविसको डाँडाखेत पुर्ख्यौली घर भए पनि तातोपानीमा बस्न थालेको धेरै भएको किसान सम्झिनु हुन्छ । 

उहाँले भन्नुभयो, “धेरै लामो समय त भएको छैन, तर पनि व्यावसायिक तबरले काम गर्न थालेको आठ वर्ष पुग्यो । म्याग्दीका प्रायः क्षेत्रमा पुगेर भित्तामा चित्र कोर्ने काम गरेको छु, अहिले पनि काम गर्दै छु ।” यहाँ काम गरेको करिब ५० हजार रुपियाँ बिल उठ्छ होला उहाँले भन्नुभयो ।

बेनीको गणेश टोलमा अहिले किसानले नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाही, गौतम बुद्ध, म्याग्दीका कलाकार जीवन कार्की, चर्चित हिमाल आरोही निर्मल पुर्जा, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, सङ्गीतकार दीपक शर्मा, गायक प्रकाश दूतराज र भल्गर विविधजंग थापाको चित्र कोर्नुभएको छ । कतिपय चित्रले पूर्णरुप पाएको र कतिपयको फिनिसिङ बाँकी रहेको उहाँले बताउनुभयो । 

बाल्यकालदेखि नै चित्रकलामा रुचि भएका किसानले वि.सं. २०६८ र २०६९ सालमा धौलागिरि माध्यमिक विद्यालय सिङ्गाको प्रतिनिधित्व गर्दै नेपाल रेडक्रस सोसाइटी म्याग्दीले आयोजना गरेको ‘छुवाछुतरहित समाज’ विषयक अन्तर मावि चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियो । 

चित्रकलामा २० प्रतिशत सामग्री खरिदका लागि खर्च हुने र ८० प्रतिशत मेहनत हुने किसानको भनाइ छ । वाल आर्ट गरेबापत किसानले तीनदेखि नौ सय रुपियाँ स्क्वायर फिटका दरले पारिश्रमिक लिने गर्नुभएको छ । आफ्नो कामबाट वार्षिक चार लाख रुपियाँ बढी कमाइ भइरहेको उहाँले बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले स्थानीय युवाहरूले गरेको प्रयासको उच्च मूल्याङ्कन गर्दै राज्यको तर्फबाट पनि उचित सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले व्यावसायिक तबरले युवालाई देशभित्रै लगाउनका लागि यस्ता युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । gorkhapatra

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article