21 C
Kirtipur
Wednesday, September 17, 2025

कीर्तिपुरमा ट्राफिक व्यवस्थापन एवं व्यवस्थित पार्किङ सम्बन्धी अन्तक्र्रिया सम्पन्न

Must read

–ललेन्द्र शाक्य

कीर्तिपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा कीर्तिपुरमा ट्राफिक व्यवस्थापन एवं व्यवस्थित पार्किङका लागि कीर्तिपुर नगरपालिका र सरोकारवाला निकायबीच अन्तक्र्रिया कार्यक्रमको आयोजना भएको छ । सोमबार बिहान कीर्तिपुर नगरपालिका १० वडास्थित मंगल उच्च माध्यमिक विद्यालयको हलमा भएको उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

यस्तै कार्यक्रमा अतिथिको रुपमा सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेल, कीर्तिपुरका ट्राफिक प्रहरी उपरीक्षक श्यामसुन्दर कामत, कीर्तिपुर प्रहरी विटका प्रहरी निरीक्षक त्रिभुवन सिंह थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्य अतिथिका रुपमा कीर्तिपुर नगर सभापति नेपाली कांग्रेसका कृष्णमान डंगोल, कीर्तिपुर नगर सभापति नेकपा एमालेका राधाकृष्ण बस्नेत, कीर्तिपुर नगर अध्यक्ष नेकपा माओवादी केन्द्रका दिलबहादुर महर्जन, कीर्तिपुर नगर सभापति राप्रपाका जितबहादुर विष्ट, नयाँबजार क्लब कीर्तिपुरका अध्यक्ष ईश्वरमुनि बज्रचार्य, नयाँबजार बजार व्यवस्थापन समिति कीर्तिपुरका अध्यक्ष बुद्धिमान महर्जन, कीर्तिपुर वितरक संघका अध्यक्ष राकेश महर्जन तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि एवं कीर्तिपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कीर्तिपुर नगर उद्योग वाणिज्य संघकी संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा संचालित उक्त अन्तक्र्रिया कार्यक्रममा कीर्तिपुरको अस्तव्यस्त ट्राफिक व्यवस्थापन एवं पार्किङको सम्बन्धमा उपस्थित व्यक्तित्वहरुले आ–आफ्नो विचार एवं जिज्ञासा राखेका थिए । कीर्तिपुरमा हालसम्म पनि बसपार्क नभएको अवस्थामा अब बसपार्कको लागि कीर्तिपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा रहेको खाली जग्गामा बसपार्क निर्माणको लागि कीर्तिपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालयसंग सहकार्य गर्नुपर्ने धारणा पनि उपस्थित व्यक्तित्वहरुले राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताले व्यवस्थित बसपार्क निर्माणको लागि त्रिभुवन विश्वविद्यालयसंग छलफल भइरहेको जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा कीर्तिपुरको नयाँबजार क्षेत्रमा अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्नको लागि सडकमा नभई अन्य कुनै खुल्ला जग्गामा नीजि क्षेत्रबाट पनि व्यवस्था गर्नसकिने धारणा आएको थियो भने उपप्रमुख शाक्यले नयाँबजारको पार्किङ व्यवस्थित गर्न खुल्ला जग्गा लिजमा लिई सःशुल्क पार्किङ स्थल निर्माण गर्ने कार्य शुभारम्भ भइसकेको तर जग्गा भाडादर सम्बन्धी निर्णय नटुंगिएको कारण व्यवस्थित सःशुल्क पार्किङ निर्माणमा अलि ढिलाई भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा कीर्तिपुरमा बस स्टेशन तोक्नु पर्ने, पार्किङ क्षेत्र छुट्याउनु पर्ने तथा कीर्तिपुर क्षेत्रभित्र ८० वटाभन्दा पनि बढि सहकारी संस्था रहेको कारण कीर्तिपुर नगरपालिकाले ती सहकारी संस्थासंग व्यवस्थित बसपार्क निर्माणको लागि ब्याज तिर्ने गरी लगानी गर्न ऋण लिएर समस्याको समाधान गर्नुपर्ने उपाय पनि रहेको विचार उपस्थित व्यक्तित्वहरुले राखेका थिए । कीर्तिपुरमा बस स्टेशन एवं प्रतिक्षालय निर्माण गर्नुपर्ने र ती प्रतिक्षालयमा शौचालयको पनि व्यवस्था हुनुपर्ने एवं अपाङमैत्री सडक व्यवस्थापन हुनुपर्नेमा पनि उपस्थित व्यक्तित्वहरुले आ–आफ्ना विचार राखेका थिए भने यसको लागि नगरपालिका, स्थानीय क्लब संघसंस्था तथा प्रहरी, ट्राफिक प्रहरीबीच समन्वय र छलफल हुनुपर्ने धारणा पनि राखेका थिए । कार्यक्रममा कीर्तिपुर क्षेत्रका यातायात व्यवसायीहरुलाई पनि आमन्त्रण गरिएको थियो । तर कुनै पनि यातायात व्यवसायी संस्थाका प्रतिनिधिहरु भने उपस्थिति भएन ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article