20.8 C
Kirtipur
Tuesday, September 16, 2025

राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनी

Must read

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन्।

संघीय संसदको दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयकले स्वतः ऐनको रुप लिने दाबी गर्दै उनले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने तर्कसमेत गरे।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनीसमेत दिए।

उनले भने, ‘कुनै पनि पार्लियामेन्टले दोहोर्‍याएर पारित गरेपछि त्यो स्वतः ऐनको रुप लिन्छ। यसले संसदीय मर्यादाकै खिल्ली उडेको छ। संसदले पारित गरिसकेपछि तिनलाई प्रमाणीकरणबाट रोक्न मिल्दैन। यदि त्यसो गर्ने हो भने संसदले पारित गर्दै जाने तर त्यो प्रमाणीकरण नहुने हो भने के हाल हुन्छ? लोकतन्त्रको, संघीय व्यवस्थाको? त्यसकारणले म भन्छु – संघीय व्यवस्था, संसदीय लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्न गएको छ। धरापमा पर्न जाँदैछ। यसका संकेतहरु देखिएका छन्। यसप्रति सचेत रहन जरुरी छ।’

अध्यक्ष यादवले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणीसमेत गरे। मधेसी, आदिवासी, जनजातिलगायतका सबै समुदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न प्रतिनिधिसभाले गर्न नसकेको उनको गुनासो थियो।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article