20.8 C
Kirtipur
Tuesday, September 16, 2025

जलका स्रोतमा पूजा गरी मनाइयो सिठी नख पर्व

Must read

राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा गर्नाका साथै पूजा–आराधना गरी सिथि नखः मनाएका छन् ।

 मार्कण्डेयलगायत पुराणमा सिथि देवताका रूपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्ने उल्लेख गरिएको छ । पुराणअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा. डा. देमणि भट्टराईले बताउनुभयो ।

सो अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा सफाइ गरिएको हो । यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाइएका छन् । नेवार समुदायबाट पानीको स्रोतको सफाइ सिकेकाले पनि यो पर्व मनाउने गरेका छन् ।

मनाइयो कुमार षष्ठी

ज्येष्ठ शुक्ल षष्ठीकै दिन मनाइने कुमार षष्ठी पर्व पनि आज देवताहरूका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी मनाइएको छ । सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रंश भएर कुमार कार्तिकेयलाई सिथि पनि भन्ने गरिन्छ ।

शिव पार्वतीले पृथ्वी घुमेर आउनेलाई पहिलो पूजा गर्ने रीत बसाल्ने घोषणा गरेपछि कुमारले आफ्नो बाहन मयूर चढेर ब्रह्माण्डको परिक्रमा गरेपनि गणेशले विश्व ब्रह्माण्ड भनेकै शिव पार्वती भनी पहिलो पूजाको अवसर पाएको कथा पनि विभिन्न पुराणमा उल्लेख छ ।

गणेशपछि कुमारको पूजा गर्ने गरिन्छ । गणेशकुमाराभ्यां नमः भन्ने वाक्यले दुवैको पूजा गरिने उहाँले बताउनुभयो । यस दिन छ थरिका पूजा सामग्रीले सिथिको पूजा गरिन्छ । छ वटा पात भएको कमलको पूmल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको पिठो, कुमकुम आदिबाट बनाइएका खाद्यपदार्थ, छ थरी ब्यञ्जनका साथ सिथिको पूजा हुन्छ ।

यसअघि कुनै कारणवस कूल पूजा गर्न रोकिएकाको आजैका दिन गर्ने चलन छ । यो चलन विशेषगरी नेवार समुदायमा बढी छ । पानीको पूजा आराधना गरी आजैदेखि रोपाइँको सुरुवात् हुने भनाइसमेत छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ ।

 पद, धन र मानको हानी भएका व्यक्तिले यस दिन व्रत गरी पूजा आराधना गरेमा गुमेको स्थान फिर्ता हुन्छ भन्ने विश्वाससमेत छ । यसपर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका बासिन्दाले युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागि मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइ छ ।

ज्येष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नःघल टोलमा रहेको कुमार कार्तिकेय (सिथि देवता) को मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । ज्येष्ठ शुक्ल सप्तमीका दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी सहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ ।

काभ्रेपलाञ्चोकको सदरमुकामा धुलिखेलमा छ वटा टाउको भएको कार्तिकेयको मूर्ति छ । त्यो मूर्तिले कुमारका छ शक्तिको चारित्रिक प्रभाव दर्शाउने जनाइएको छ । कुमारका छ टाउका भएकाले छ प्रकारका सामग्री एवं नैवेद्यले पूजा गर्ने चलन बसेको भन्ने भनाइसमेत छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article