काठमाडौं । साफ महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ । काठमाडौंको दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपाली टोलीले तुलनात्मक रूपमा कमजोर भुटानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्दै छ ।
नेपालले लगातार दोस्रोपटक यो प्रतियोगिताको आयोजना गरेको हो । त्यसकारण नेपाली टोली घरमै उपाधि राख्ने दोस्रो मौकालाई गुमाउन चाहँदैन । भुटानले भने अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । भुटान अघिल्लो संस्करणका नतिजालाई बिर्साउने प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ
‘‘यसअघि विराटनगरमा भएको थियो । अहिले काठमाडौंमा हुँदै छ । काठमाडौं फुटबलका लािग विशेष ठाउँ हो । काठमाडौंको दर्शकलाई हामी निराश बनाउन चाहँदैनौँ । मेरो लागि यो दोस्रो अवसर हो । त्यसलाई खेर जान नदिन म प्रतिबद्ध छु,’’ नेपालका प्रशिक्षक कुमार थापाले भनेका छन् ।
सन् २०१६ मा पनि थापाले नेपाली महिला टोलीको प्रशिक्षण सम्हालेका थिए । त्यति बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । समूह ‘ए’बाट विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । त्यसबाहेक सबै संस्करणमा नेपालले फाइनल खेलेको छ ।
नेपाल चारपटकको उपविजेता टोली हो । फिफा महिला वरीयतामा नेपाल १०२औँ स्थानमा छ । भुटान १७६औँ स्थानमा छ । भुटानले २०१० मा श्रीलंकालाई १–१ को बराबरीमा रोकेको थियो । त्यसबाहेक भुटानले महिला साफमा अंक जोड्न सकेको छैन । त्यसकारण पनि भुटानलाई प्रतियोगितामा कमजोर टोलीका रूपमा लिइएको छ ।
नेपालका प्रशिक्षक थापा विगत र अहिलेको तुलना गर्न नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘‘पहिले र अहिलेको अवस्था तुलना गर्न मिल्दैन । यसबीचमा टिममा धेरै परिवर्तन भइसकेको हुन्छ । त्यसकारण हामी कुनै पनि टिमलाई कमजोर मान्दैनौँ । सबैलाई समान रूपमा लिएका छौँ ।’’
भुटानको पछिल्ला पाँच खेलको नतिजा हेर्ने हो भने सबैमा पराजित भएको छ । भुटानले सबै साफमा खेलेको छ । नेपाल पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी, एकमा पराजित र दुई खेल बराबरीमा टुंगिएको थियो । पछिल्लो समय नेपालले महिला एसियन कप छनोट प्रतियोगितामा हङकङसँग गोलरहित बराबरी खेलेको थियो । फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो ।
त्यसअघि, बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलमा एउटा गोलरहित बराबरी र अर्को खेलमा २–१ को विजयी नतिजा निकालेको थियो । नेपालले ओलम्पिक एसिया छनोटमा इन्डोनेसियालाई २–१ ले हराएको थियो ।
नेपाली टोलीकी नियमित कप्तान रेनुका नगरकोटी घाइते भएपछि गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको काँधमा कप्तानीको जिम्मेवारी आएको छ । एन्जिला आफ्नो कप्तानीमा पहिलो उपाधि जिताउन सक्दो प्रयास गर्ने बताउँछिन् ।
‘‘कप्तान बन्ने सबै खेलाडीको सपना हुन्छ । मेरो त्यो सपना पूरा हुँदै छ । र, कप्तानको रूपमा उपाधि जित्ने राम्रो अवसर पनि आएको छ । त्यसको लागि हामी सक्दो मिहिनेत गर्नेछौँ,’’ कप्तान एन्जिलाले थपिन्, ‘‘हामी बोलेरभन्दा पनि मैदानमा खेलेर देखाउनेछौँ ।’’
प्रतियोगिताका लागि नेपाल आइपुग्ने भुटान पहिलो टोली हो । भुटान यही भदौ ९ गते नेपाल आइपुगेको थियो । भुटानकी कप्तान पेमा चोदेन छिरिङले चाँडै नेपाल आएर यहाँको वातावरणसँग घुलमिल हुने अवसर पाएको बताइन् ।
‘‘यसबीचमा हामी केही मैत्रीपूर्ण फुटबल पनि खेल्यौँ । त्यसले हामीलाई केही भने पनि एक्स्पोजर दिएको छ,’’ कप्तान पेमाले थपिन्, ‘‘नेपाललाई घरेलु समर्थकको साथ रहनेछ । हामीलाई त्यो चुनौती हो । युवा खेलाडीको वर्चस्व छ । उनीहरूले राम्रो खेल्ने विश्वास लिएको छु ।’’
महिला साफमा नेपाल र भुटान तीनपटक आमने–सामने भएका छन् । पाकिस्तानमा सम्पन्न २०१४ र भारतमा सम्पन्न २०१६ को संस्करणमा नेपालले भुटानलाई समान ८–० ले हराएको थियो । नेपालमै सम्पन्न २०१९ को संस्करणमा नेपाल ३–० ले विजयी भएको थियो । त्यसमध्ये सावित्रा भण्डारीले मात्र आठ गोल गरेकी छन् ।
नेपालका प्रशिक्षक थापा भुटानलाई सम्मान गरेर खेल्ने बताउँछन् । उनी भन्छन्, ‘‘दशरथ रंगशालामा महिलाको पहिलो ठूलो प्रतियोगिता हुँदै छ । फरक वातावरण हुनेछ । हामीले दशरथ रंगशालामा केही सेसन पनि लिएका छौँ । हामी भुटानलाई कमजोर मान्नेछैनौँ । उनीहरूको सम्मान गर्दै उत्कृष्ट फुटबल खेल्नेछौँ ।’’