काठमाडौं। पत्रकार महिलाले आफुहरुको काम गर्ने शैलीमा निखारता आउन थालेको बताएका छन् । सञ्चारिका समूहले ललितपुरमा गरेको एक कार्यक्रममा पत्रकार महिलाले सो कुरा बताएका हुन् ।
पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रममा तीन महिने तालिम तथा मेन्टरिङले आफुहरुको लेखन शैलीमा थप सहयोग पुगेको उहाँहरुको भनाइ छ । भक्तपुरकी पत्रकार सिर्जना खड्काले तीन महिनाको अवधिमा आफूले लेख्ने शैलीमा समेत परिवर्तन आएको बताउनुभयो ।
अर्का पत्रकार भावना शर्माले तीन महिनाको अवधिमा आफू निखारिने मौका पाएको बताउनुभयो । वरिष्ठ पत्रकारलाई मेन्टरका रुपमा पाउँदा पत्रकारिताका लागि अपरिहार्य सुक्ष्म विषय पहिचान गर्न सकेको बताउनुभयो ।
कार्यक्रममा अमेरिकी दुतावासका प्रवक्ता एन्ना रिचे एलेनले पत्रकार महिलाको वृत्ति विकासका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । पत्रकार पुरुषको तुलनामा पत्रकार महिलाको अवस्था दयनीय रहेकाले आफूहरुले स्तरोन्नतिका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अमेरिकी दुतावासको सहयोगमा सञ्चारिका समूहले देशभरबाट छानिएका १० जना महिलालाई तालिम तथा मेन्टरिङ कार्यक्रमको आयोजना गरेको थियो ।





