11 C
Kirtipur
Thursday, December 4, 2025

गुमेको नेपाली भूमि फिर्ता ल्याउँछौँ : अध्यक्ष ओली

Must read

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसँगको परामर्शविना कालापानीमा भारतीय सरकारले फौज राखेर नेपाली भूमि नियन्त्रणमा लिएकाले त्यसलाई फिर्ता ल्याइने बताउनुभएको छ । 

एमाले डोटीको चुनावी सभामा शनिबार सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको   हो । गुमेको नेपाली भूमिसहितको नयाँ नक्सा जारी भइसकेकाले आगामी एमाले नेतृत्वको सरकारले वार्ता र समन्वय मार्फत नेपाली भूमि भारतबाट फिर्ता ल्याउने दाबी गर्नुभयो ।

अहिलेको सरकारले सो विषयमा बोल्न पनि नसकेको टिप्पणी गर्नुभयो । संसदबाट सर्वसम्मत रूपले नक्सा पारित गरी प्रकाशन गरिएकाले जमिन फिर्ता हुने उहाँले पुनः प्रतिबद्धता दोहोर्‍याउनुभयो । 

डोटी ऐतिहासिक थलो भए पनि चाहेकोजस्तो विकास हुन नसकेकाले आगामी निर्वाचनबाट बन्ने एमाले नेतृत्वको सरकारले यथोचित विकासको कामलाई अघि बढाउने बताउनुभयो । पश्चिम सेती जलविद्युत आयोजना सम्पन्न गरी यहाँको विकास गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

“यो ठाउँले अब नयाँ ढङ्गले विकासको गति लिन्छ, प्राविधिक विकासलाई प्राथमिकतामा दिइने छ” अध्यक्ष ओलीले थप्नुभयो, “हामी प्रविधिको जमानामा पुगेका छौँ, अब कुनै पनि नेपाली बालबालिका शिक्षाबाट वञ्चित हुनु पर्दैन, दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गरी निरक्षर मुलुक बनाउँछौँ ।”

डोटी नेपालको प्राचीन राजधानी भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले डोटीको भूमिले नेपालको गौरव बढाएको भए पनि विकासको काम हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । कैलालीबाट डोटीसम्म छोटो बाटो पक्की बनाउन सके विकासले फड्को मार्ने भन्दै एमाले नेतृत्वमा सरकार बने त्यसलाई सम्पन्न गर्ने बताउनुभयो ।  

डोटीमा हालै कात्तिक २३ गते गएको भूकम्पमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । पीडितहरूलाई तत्काल क्षतिपूर्ति र राहत उपलब्ध गराउन उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो । 

भूमिहीन नेपालीलाई लालपुर्जा वितरण गरी घरका मालिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिन आव्हान गर्नुभयो । “एमालेले जे बोल्छ त्यही गर्छ, हाम्रो नेतृत्वमा बहुमतको सरकार बनेमा डोटीको विकास सम्भव गर्छौँ” अध्यक्ष ओलीले भन्नुभयो, “तत्कालीन एमाले नेतृत्वको सरकारबाट शुरुभएको एक सय रुपियाँको बृद्धभत्ता ४ हजार बनाएको र आगामी दिनमा त्यसमा यथोचित वृद्धि गर्छौँ ।”  आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन उहाँले आव्हान गर्नुभयो ।

एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले बेरोजगारी समस्या समाधान गर्नलाई केन्द्र र प्रदेश दुवै ठाउँमा एमालेको बहुमतको सरकार अनिवार्य भएको बताउनुभयो । डोटीको विकासका लागि एमालेका उम्मेदवारले जित्नुपर्छ उहाँले भन्नुभयो । 

एमालेले डोटीको दिपायलमा आज चुनावी सभाको आयोजना गरेको छ । त्यस्तै, आजै कैलालीको अत्तरिया र लम्कीचुहामा पनि चुनावी सभाको आयोजना गरिएको सो दलले जनाएको छ । सबै चुनावी भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिम प्रदेशका सचिव धर्मराज पाठकले बताउनुभयो ।गाेरखापत्र

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article