काठमाडौं ।
जेन–जी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस प्रतिगामी र सुनियोजित रहेको पूर्वराष्ट्रपति डा. रामवरण यादवले बताएका छन् ।
यो घटना नेताहरूको कमजोरीकै कारण भएको जेनजी आन्दोलनपछिका समग्र घटनाहरूलाई स्वतन्त्र तबरले नियाली रहेका पूर्वराष्ट्रपति रामवरण यादवले उल्लेख गरेका छन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले भनेका छन्, ‘२४ भदौको घटना नेताहरूको कमजोरीले गर्दा भएको हो । २३ भदौमा १९ जना युवाको ज्यान गयो । त्यो दिन घुसपैठ भयो भनिरहेका छन् । राज्य चलाउनेहरूलाई घुसपैठ भएको थाहा हुनुपथ्र्यो । सूचना राखेको देखिएन, जेन–जीको आन्दोलनलाई हल्का ढंगले लिएको देखियो । यो त्यतिबेला सरकारमा बसेका एमाले र कांग्रेसका नेताहरूको कमजोरी हो ।’
यादवले जेन–जी युवाहरूले सुशासन, रोजगारी, बेथितिको अन्त्य, सामाजिक सञ्जाल खुलाउने जस्ता मागहरू गरेको र ती माग जायज रहेको उल्लेख गरे । यादवले जेन–जीले अहिले पनि यो संविधान मार्फतै निकास निकाल्नु पर्छ भनिरहेको र यो कुरा सही रहेको उल्लेख गरे ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले भनेका छन्, ‘दोस्रो दिनको विध्वंसमा आफ्नै सम्पत्ति, राष्ट्रिय धरोहरलाई जसरी आक्रमण भयो, त्यो प्रतिगामी डिजाइन थियो । नेपालीले नै गरे पनि त्यो प्रतिगामी काम नै हो । २४ भदौको घटना सुनियोजित जस्तो देखियो । त्यसप्रति राज्य बेखबर भयो । त्यसमा राज्य चलाउनेको पूरापुर दोष छ ।’





