–ललेन्द्र शाक्य
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटीको बैठक असोज २९ गतेदेखि चलिरहेको छ भने आज असोज ३१ गते शुक्रबार समापन हुँदैछ ।
एमालेको उक्त दशौं केन्द्रीय कमिटीको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य कीर्तिपुर निवासी डा. सुरेन्द्र मानन्धरले आफ्नो धारणा एवं राजनीतिक मत प्रस्तुत गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिएर एमालेका सहयोद्धाहरुलाई विश्वास गरी नेतृत्व हस्तान्तरण गरी सामुहिक नेतृत्व कायम गर्न ढिला गर्न नहुने राय व्यक्त गरेका छन् ।
एमाले केन्द्रीय सदस्य डा. मानन्धरले उक्त बैठकमा असोज ३० गते बिहिबार प्रस्तुत गरेको राजनीतिक मतमा प्रस्तावित विशेष प्रस्तावका सम्बन्धमा देशमा केही पनि भएको छैन भन्ने चिन्तन ठिक नभएको र दुई तिहाई नजिकको सरकार चलाइरहेको प्रधानमन्त्रीले देशमा के भईरहेको छ भन्ने कुनै जानकारी र अनुमान समेत गर्न नसक्नु र शासन व्यवस्था तहसनहसको यो भयानक अवस्था आउनुमा मूलतः प्रधानमन्त्रीकै असक्षमता र असफलता भएको र अरुलाई दोष दिएर उम्कन खोज्नु कदापी मिल्दैन भन्ने आवाज उठाएका छन् ।
राजनीतिक मत प्रस्तुत गर्ने क्रममा डा. मानन्धरले इतिहासको खास समयमा संख्याको खास महत्व र भूमिका हुँदैन कमरेड भन्दै भन्नु हुन्छ, “भाद्र २२ गतेसम्म संसदमा दुई दलको झन्डै २–३ को सरकार थियो, तैपनि हेलिकोप्टर चढ्नु पर्ने परिस्थिति आयो । अब केन्द्रीय कमिटीमा संख्याको कुरा गर्दैछौं अनि भोलि अन्तको कुरा गरौंला । मूल कुरा त जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ । यो कुरामा अध्यक्ष कमरेड आजसम्म सफल नदेखिनु भएकोले देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट रोक्न आफ्ना सहयोद्धा कमरेडहरुलाई विश्वास गरी अध्यक्ष पदबाट राजीनामा दिएर वहाँहरुलाई नेतृत्व हस्तान्तरण गरी पार्टीमा सामुहिक नेतृत्व कायम गर्न ऐतिहासिक आवश्यकता भइसकेको छ । यसमा ढिला नगरौं ।”
एमाले केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले देश भाद्र २२ अघिको अवस्था नभएको र परिवर्तित परिस्थितिमा पार्टी कसरी अगाडी बढाउने भन्ने नीति तथा कार्यक्रम तय पर्ने मत राख्दै भनेका छन्, “त्यसैले तोकिएको मितिमा चुनाव गर भनी चुनावी तयारीलाई हाई साउण्ड गरी संसद पुनःस्थापनाको विषयमा पनि सजकता अपनाएर अघि बढ्नु पर्दछ तर पार्टी नै संसद पुनःस्थापनाको माग लिएर अदालत जान हुँदैन । संसद पुनःस्थापनाको आन्दोलन लिएर जनतामा जानसक्ने कुनै अवस्था छैन । यसले उल्टो देशमा द्वन्द्वको सम्भावना बढाउने खतरा छ ।”
चुनावको तयारीमा मतदाता नामावली संकलन, निर्वाचन आयोगमा दल दर्ता लगायत सबै काममा सक्रिय सहभागी हुन पार्टीले आम जनता, अन्य दल र पार्टी कार्यकर्तालाई आह्वान गर्नुपर्दछ भन्ने मत पनि डा. मानन्धरले राखेका छन् ।
डा. मानन्धरले राजनीतिक मत प्रस्तुत गर्ने क्रममा नयाँ विश्वासिलो तथा भरपर्दो व्यवहार प्रदर्शन गरी कम्युनिष्ट पार्टीहरुबीच सहकार्य र समधुर सम्बन्ध कायम गर्ने र आगामी निर्वाचन भईहालेमा बृहत् वाम लोकतान्त्रिक गठबन्धन गर्ने तयारीका साथ पार्टीलाई अघि बढाउनु पर्ने विचार राखेका छन् ।
कानूनविद् एवं कीर्तिपुरका चर्चित राजनीतिककर्मी डा. सुरेन्द्र मानन्धर गएको कीर्तिपुर नगरपालिकाको उपचुनावमा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवारमा चुनावी मैदानमा उत्रेका व्यक्तित्व हुन् ।