काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आवाज उठेको छ । बिहिबारको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रममा केपी शर्मा ओलीलाई बिदा गर्ने र अहिलेकै पदाधिकारीमध्ये कुनै एकजनालाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने आवाज उठेको हो । यस्तो धारणा राख्ने केन्द्रीय सदस्य रबिन कोइराला हुन् । कोइरालाले भने, ‘अध्यक्ष कमरेड अब तपाईंले बिदा लिनुस् र अभिभावक बन्नुस् । महाधिवेशनका लागि भएकै पदाधिकारीमध्येबाट एक जना संयोजक तोकेर जाऔं ।’
बुधबारबाट सुरु भएको नेकपा एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रस्तावमा आगामी मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव छ । सो राजनीतिक प्रस्तावमा जेनजी युवा आन्दोलनमा जनधनको क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सामान्य आत्मालोचना पनि नभएको भनेर पनि विरोध भएको छ ।
केन्द्रीय सदस्य कोइरालाले भने, ‘हामी यत्रो विध्वंसपछि यहाँ छौ । यो विध्वंस हुँदा हाम्रो पार्टी अध्यक्ष देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । यसबखत आएको प्रतिवेदनमा सामान्य आत्मालोचना पनि छैन । यो विडम्बनापूर्ण छ ।’
कोइरालाले आफूले गरेको गल्ती महसुस नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरे । लेनिनको भनाइ उद्धृत गर्दै कोइरालाले भने, ‘जो व्यक्तिले आफ्नो गल्ती महसुस गर्दैन त्यो मान्छे होइन ।’ केन्द्रीय सदस्य कोइरालाले समाजका तमाम असफलताहरु अरुले गरेको भनेर आज पत्याउने परिस्थिति नभएको बताए ।
यस्तै, नेकपा एमालेका अर्का केन्द्रीय सदस्य रामलाल साह (मोरङ)ले नेपालमा हस्तक्षेप गर्ने वैदेशिक शक्ति किटान गर्नुपर्ने धारणा राखे । साहले भने, ‘वैदेशिक हस्तक्षेप हो भने क–कसको हो किटान गरौं र सोधौं । होइन भने समस्याको समाधान बाहिर नखोजौं ।’