नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेसम्म हालको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको दाबी गर्दै प्रधानमन्त्री ओलीको दम्भ, अहंकार, गलत नीति र गलत कामको कारण देश नै पूरै पीडित बनेको आरोप समेत लगाएका छन् ।
नेपालले शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानी गर्दै अहिलेको सरकार सबै हिसाबले असफल भएको र एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित भएको भनेका छन् । नेपालले देशलाई अहिलेको पीडाबाट मुक्त गर्नको लागि ओलीलाई बिदा गरिनुपर्ने समेत मत राखेका छन् । तर, अहिले तत्काल सरकार परिवर्तन हुने अवस्था नभएको माधवकुमार नेपालको जिकिर छ । उनले ओलीको कारण नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति भएको आरोप लगाउँदै ओलीकै कारण सरकारको नेतृत्व गरेको दल एमालेभित्र तमासा भैरहेको टिप्पणी गरेका छन् ।