विगतमा नेपाल टेलिभिजनबाट प्रसारण भएको “मेरी बास्सै” हाँस्य टेलिसिरियलमार्फत चम्सुरी नामले परिचित हाँस्य कलाकार पल्पसा डंगोल चम्सुरीको तीनवटा विधा सार्वजनिकीकरण कार्यक्रम कीर्तिपुर सिनेप्लेक्स हलमा असार ३ गते शनिबार भएको छ ।
चम्सुरी क्रियसनको प्रस्तुति रहेको पल्पसा डंगोल चम्सुरीको गायन रहेको “चम्सुरी भजन”, पल्पसा डंगोल चम्सुरीकै तीज गीत “नाच्न मन लाइहाल्यो” गीतको म्यूजिक भिडियो सार्वजनिक भएकोथियो भने पल्पसा डंगोल चम्सुरी निर्देशित थ्रीलर एवं सस्पेन्स टेलिसिरियल “सीआईडी”को टीजर पनि सार्वजनिक गरिएको थियो ।
कीर्तिपुर नगरपालिका ५ वडा पांगा निवासी चर्चित कलाकार पल्पसा डंगोल चम्सुरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथिको रुपमा उपस्थित भएको थियो भने कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता विशेष अतिथिको आसनमा बस्नुभएको थियो ।
यस्तै, अतिथिको आसनमा कीर्तिपुर नगरपालिका ५ वडाका वडाध्यक्ष राजेन्द्र कुमार महर्जन, ८ वडाका वडाध्यक्ष सानुमैंया महर्जन, बरिष्ठ गीतकार बालकृष्ण सजीव, बरिष्ठ नृत्यांगना एवं कलाकार नारायणदेवी प्रधान लगायत विभिन्न विधाका व्यक्तित्वहरुले अतिथिको आसन ग्रहण गरेका थिए ।
कार्यक्रममा सार्वजनिक गरिएको भजन–तीज गीत म्यूजिक भिडियोका कलाकार एवं प्राविधिक देखि टेलिसिरियल “सीआईडी”का कलाकार एवं प्राविधिकहरुलाई प्रमुख अतिथि कीर्तिपुर नगर प्रमुख कृष्णमान डंगोल एवं उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिताको हातबाट सम्मान गरिएको थियो ।
चर्चित संचारकर्मी कुसुम बज्राचार्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा नेवाः परम्परागत संगीत एवं नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कलाकार पल्पसा डंगोल चम्सुरीलाई मृगौला प्रदान गर्नु हुने पल्पसाका भाई अज्जु डंगोलको प्रशंसाका साथ सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा संगीत संयोजक हरिशरण सायमि, नृत्य निर्देशक भुवन श्रेष्ठ, कलाकार संचारकर्मी रामकृष्ण खड्गी, कलाकार रवि डंगोल, डान्सिङ क्वीन आराध्यालक्ष्मी खड्गी, चर्चित गायिका रत्नशोभा महर्जन लगायत विभिन्न चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो भने हल दर्शकहरुद्वारा भरिभराऊ भएको थियो ।
कीर्तिपुर सिनेप्लेक्समा पल्पसा डंगोल चम्सुरीको हंगामा
