20.8 C
Kirtipur
Tuesday, September 16, 2025

बैङ्कको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

Must read

कर्णाली । नेपाल राष्ट्र बैङ्कको निर्देशन विपरीत वाणिज्य बैङ्कहरूले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैङ्कहरूले असोज मसान्तभित्र साँवा ब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरूले विरोध जनाएका छन् ।

नेपाल राष्ट्र बैङ्कले रु पाँच करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको थियो । तर बैङ्कहरूले सात दिनभित्र ब्याज/हर्जना रकम तिर्न भन्दै पत्राचार गर्ने, सूचना टाँस गर्नेलगायतका कार्य गरेपछि सुर्खेत उद्योग वाणिज्य सङ्घले आपत्ति जनाएको छ ।

सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले व्यापार–व्यवसाय धरापमा परेका बेला राष्ट्र बैङ्कको नीतिविरुद्ध व्यवसायीहरूलाई मानसिक तनाव दिने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऋणीलाई सहजीकरण गर्नुको साटो तनाव दिने कामप्रति हाम्रो गम्भीर असहमति छ ।”

सङ्घका अध्यक्ष कँडेलले आफू पनि बैङ्कको ताकेताबाट पीडित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक मन्दीले व्यवसाय ठप्प छ, बैङ्कले मनपरी ब्याज बढाउने, राष्ट्र बैङ्कको निर्देशन विपरीत ताकेता गर्ने काम भइरहेको छ ।” नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले बैङ्कहरूले अस्वाभाविक रूपमा ब्याजदर बढाएपछि व्यवसाय धान्न गाह्रो परिरहेको गुनासो गर्नुभयो ।

यसअघि सुर्खेत उद्योग वाणिज्य सङ्घले आर्थिक समस्या समाधानका लागि अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउनाका साथै राष्ट्र बैङ्क र जिल्लास्थित सम्पूर्ण वाणिज्य बैङ्कहरूलाई विरोधपत्र बुझाइसकेको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले केन्द्रीय बैङ्कको निर्देशन विपरीत बैङ्कहरूबाट काम भइरहेको भए कारबाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा आफ्नो संयन्त्रबाट वाणिज्य बैङ्कका कार्यहरूको निगरानी भइरहेको हुन्छ, अन्य संयन्त्रबाट पनि सूचना पाइरहेका हुन्छौँ, यदि त्यसो हो भने राष्ट्र बैङ्कले आवश्यक कारबाही गर्छ ।” बैङ्कको ब्याजदर घटाउने, नियन्त्रण गर्ने विषयमा छलफल चलिरहेको उहाँको भनाइ छ । प्रवक्ता भट्टले ऋणीले अर्थतन्त्रको व्यापार चक्र बुझ्न नसक्दा पनि समस्या देखिएको बताउनुभयो । रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article